
काठमाडौं : लोप्साङ छोडेन शेर्पाको पहिलो गीति एल्बम ‘इट्स माइ ड्रीम' सार्वजनिक भएको छ। उनको ६ वर्षको जन्मोत्सवको अवसरमा एल्बम बिमोचन गरिएको हो।
एल्बममा तीनवटा गीत समावेश छन्। अडियो र भिडियो सहित तयार भएको एल्बममा ‘भोलि मलाई आकाशको’, ‘आमा’ र ‘मेरो लाली’ बोलका गीत रहेका छन्। तीनवटै गीतमा संगीत गायक तथा संगीतकार बुद्ध राईले दिएका छन्। त्यस्तै मेरो लाली बोलको गीतमा शब्द पनि संगीताकार स्वयंमको छ भने भोलि मलाई आकाशको चन्द्र भानु भक्त ढकाल र आमा बोलको गीत गायक दावा के शेर्पाले लेखेका हुन्।
लोप्साङको एल्बमबाट संकलित रकमको २५ प्रतिशत अनाथ बालबालिकाको लागि खर्च गरिने उनको पिता पेम दोर्चे शेर्पाले जानकारी दिए।
एल्बम बिमोचन कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीहरु राखिएको थियो।