काठमाडौँ : अष्ट्रेलियाको क्लब वेष्टर्न सबर्ब्सबाट युवा क्रिकेटर सन्दिप लामिछानेले शनिबार पनि खेलेका छन्। एनएसडब्लु प्रिमियर क्रिकेट अन्तर्गत फष्ट ग्रेडको तेस्रो राउन्डमा सन्दिपले खेलेका हुन्। यो राउन्डमा दुई दिवसीय खेल सञ्चालन भएको हो।
त्यसको पहिलो इनिङमा शनिबार ब्याटिङ गर्दै सन्दीपले सात बलमा नट आउट १२ रन बनाए। उनको टिमले पारामत्ता बिरुद्ध ६९.४ ओभर खेल्दै दुई सय ८३ रन बनायो।
त्यसपछि पारामत्ताले ब्याटिङ सुरु गरेको थियो। जसमा सन्दिपले चार ओभर बलिङ गर्दै ३२ रन दिएका छन्। शनिबार पारामत्ताले २४ ओभर खेल्दै एक विकेटको क्षतिमा ७९ रन बनायो। अब अर्को दिनको खेलमा पारामत्ताले आफ्नो ब्याटिङ इनिङलाई निरन्तरता दिनेछ।
गत सेप्टेम्बर २४ मा सुरु भएको प्रतियोगिताको दुई राउन्ड खेल सम्पन्न भइसकेको छ। त्यस मध्ये पहिलो राउन्डको फष्ट इनिङ सन्दिपको टिमले जित्यो भने दोस्रो राउन्ड हारेको थियो। पहिलो राउन्डमा सन्दिपले धेरै कसिलो बलिङ गरेका थिए। उनले आठ विकेट बलिङ गर्दै १७ रन मात्र खर्चेर एक विकेट लिए।
दोस्रो राउन्डमा भने उनी विकेट लिन सफल भएनन्। गत अक्टुबर एक तारिखमा र्यान्डविक पेटेर्साम बिरुद्ध भएको दोस्रो राउन्डको खेलमा उनले नौ ओभरमा ४९ रन खर्चिए। त्यो खेल उनको टिमले गुमाएको थियो।
पहिलो राउन्डमा ब्याटिङ नगरेका सन्दिपले दोस्रोमा चार बलमा चार रन समेत लिएका थिए।
उनको टिमले चौथो राउन्डमा आउँदो २२ अक्टुबरमा सेन्ट जर्ज बिरुद्ध खेल्नेछ।
एनएसडब्लु प्रिमियर क्रिकेट अन्तर्गत फष्ट ग्रेडमा सिड्नीका २० क्लबले प्रतिश्पर्धा गर्छन्। उनीहरुबीच १५ चरणको लिग खेल सकिएपछि उत्कृष्ठ आठ टिम क्वाटर फाइनलमा पुग्नेछन्। क्वाटर फाइनलमा पुग्ने टिमबीच नकआउट खेल भइ सेमिफाइन हुँदै फाइनल बिजेता तय हुनेछ। फाइनल खेल तीन दिवसिय हुनेछ। आउँदो ३१ मार्च देखि दुई अप्रिलमा फाइनल हुने तालिका सार्वजनिक भइ सकेको छ।
एनएसडब्लु प्रिमियर क्रिकेट अन्तर्गत फष्ट ग्रेडलाई सिड्नी ग्रेड क्रिकेट भनेर चिनिन्छ। यो प्रतियोगिता सन् १८९३ मा सुरु भएको हो। अष्ट्रेलियाको राष्ट्रिय टिमबाट खेल्ने धेरै खेलाडी यहि प्रतियोगिताबाट उदाएका हुन्। सन्दिप जोडिएको वेष्टर्न सबर्ब्स अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कको घरेलु क्लव हो। यो क्लवबाट फिलिप ह्युज, मिचेल स्टार्क लगायतले समेत खेलेका थिए।
सन्दिप क्लार्ककै निम्तोमा अष्ट्रेलिया खेल्न गएका हुन्। उनलाई स्वागत गर्न क्लासर्क आफैं विमानस्थल आएका थिए। अहिले क्लार्क र सन्दिप टिम मेट भएका छन्।