PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

नवरात्रको आज महाअष्टमी, बलि दिएर पूजाअर्चना सहित मनाइँदै



पहिलोपोस्ट

काठमाडौं : हिन्दु धर्मालम्वीहरुको महान् चाड दसैंको नवरात्रमा पर्ने आज आठौं दिन अर्थात् महाअष्टमी।
 
देशभर दुर्गा भवानीको पूजा आर्चना गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीमा देशभरका विभिन्न शक्तिपीठमा बलिसहित पूजार्चना तथा दुर्गा भवानीको पाठ समेत गरिन्छ।
 
महाअष्टमीको अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा द्रव्य, चामल, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रो राखी पूजा गरिन्छ। दुर्गाको अस्त्रको रुपमा आज पूजाकोठामा हातहतियार, खड्ग र सवारी साधनलाई समेत सफासुग्घर गरी पूजा गर्ने चलन रहिआएको छ।
 
हनुमाढोकाको दसैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिने गरिन्छ। भक्तपुरको तलेजु भवानीलाई ८४ वस्तुबाट तयार पारिएको रोटी चढाउने चलन पनि छ।
 
महाअष्टमीको अवसरमा उपत्यकाका शाक्तिपीठहरु गुहेश्वरी, दक्षिणकाली, मैतिदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, बज्रयोगिनी, संकटा लगायतका शक्तिपीठहरुमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell