PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

पौने दुई अर्ब बढीको लागतमा मंसिरदेखि सुरु हुँदैछ नयाँ जलविद्युत आयोजना



पहिलोपोस्ट

बागलुङ : बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ। आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुन लागेको हो।
 
तीन वर्षभित्र काम पूरा गर्ने लक्ष लिएको प्रवर्धक दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ। एक अर्ब ८२ करोड रुपैयाँको लागत अनुमान सहित आयोजनाको सर्वे भइसकेको छ। आयोजनामा ९० प्रतिशत प्रवर्धक र १० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।
 
नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौताको प्रक्रिया अघि बढि सकेको आयोजना निर्देशक रुपकलाल श्रेष्ठले जानकारी दिए।
 
'आयोजनाको विस्तृत सर्वे, वातावरणीय अध्ययनजस्ता पूर्व तयारीका काम पूरा भइसकेका छन्,' उनले भने, 'आउँदो मङ्सिरदेखि पूर्वाधारको काम सुरु हुन्छ, २०७६ पुसभित्र बत्ती बालिसक्ने लक्ष्य छ।'
 
यसअघि रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले बनाउने भनेको आयोजना लगानी जुट्न नसकेपछि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मा लिएको हो।
 
कम्पनीले आयोजना प्रभावित क्षेत्रबाटै लगानी जुटाउने जनाएको छ। बागलुङका तीन र गुल्मीका दुई गरी पाँच गाविसलाई कार्यक्षेत्र बनाई कम्पनीले काम सुरु गरेको छ। बागलुङको रिघा, काँडेबास, मल्म एवं गुल्मीको वामी र अर्लाङकोट गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन्। आयोजनामा दरमखोला जलविद्युत् सहकारीको २० प्रतिशत लगानी रहेको अध्यक्ष गङ्गा भुजेलले बताए।
 
त्यस बाहेक प्रभावित पाँच गाविस, गुल्मीको वामी इन्भेष्टमेन्ट कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनी आयोजनाको लगानीकर्ताको रुपमा रहेका छन्। रिघा–३ मा ड्याम र रिघा–७ मनेवामा विद्युत्गृह निर्माण गरिने निर्देशक श्रेष्ठले जानकारी दिए।
 
'एकसय २९ मिटरको हेडबाट प्रतिसकेन्ड १० हजार ५०० लिटर पानी प्रवाह हुनेछ, उनले भने– ड्याम र विद्युत्गृहसम्मको पाइपलाइनको दूरी चार हजार २०० मिटर रहनेछ।'
 
आयोजना निर्माणका लागि सहकारीले खरिद गरेको ३१९ रोपनी जग्गा कम्पनीले लिइ सकेको छ।
 
सदरमुकामबाट ५६ किलोमिटर पश्चिम यो आयोजना बन्न लागेको हो। आयोजना सञ्चालनमा आउँदा वार्षिक पाँच करोड युनिटभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध हुने र ३० करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने जनाइएको छ।
 
जिल्लामा यसै वर्ष साढे दुई मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना बनेर सञ्चालनमा आइसकेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell