PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नाकाबन्दीले सेकेको वीरगन्ज बौरियो, उल्लासमा रमिरहेछ गहवामाई मेला



राधेश्याम पटेल

नाकाबन्दीले सेकेको वीरगन्ज बौरियो, उल्लासमा रमिरहेछ गहवामाई मेला

वीरगन्ज : औद्योगिक नगरी वीरगन्जमा दुईदिने गहवामाई मेला धुमधामका साथ लागिरहेको छ।
 
घटस्थापना देखि नै सहरमा फाटफुट मेला लाग्दै आए पनि फूलपातीदेखि श्रद्धालुहरुको घुइँचो बढ्ने विगतदेखिकै परम्परा हो। यो क्रम आज दिनभर पनि जारी रहन्छ।
  
नगरको मुख्य सडक नै ढाकेर लाग्ने यो मेला वीरगन्जको पुरानो संस्कृतिमध्येको हो। मेलामा खानेकुराहरु जेरी, भुजा र पकौडीदेखि लगाउने चुरा, पोते, धागो आदि बिक्री हुने गरेको थियो। अचेल लत्ताकपडा, जुत्ताचप्पल, खेलौना, मोबाइलसम्म मेलामा किन्न पाइन्छ। अझ धेरै बिक्री गर्ने उद्देश्यले व्यापारीहरुले छुट समेत दिने हुँदा किन्ने उद्देश्यले आउनेको समेत घुइँचो लाग्ने गरेको छ।
 
अष्टमीमा गहवामाईलाई पशुपन्छी बलि दिन गाउँगाउँ तथा छिमेकी जिल्लावासी र भातरबाट समेत दर्शनार्थीको भिड लाग्ने गरेको छ। मेलामा बारा, पर्सा, चितवन, मकवानपुर र भारत विहारका भक्तजनहरु आउने गरेका हुन्। घण्टाघरदेखि आदर्शनगर क्षेत्र सम्मको सडक व्यापारी र मेला भर्न आउने सर्वसाधारणले ढपक्कै ढाक्छन् ।
 
गत वर्ष लामो बन्दहडताल र नाकाबन्दीको मार खेपेको आर्थिक नगरी वीरगन्जको अर्थतन्त्र यस बर्षको दसैं पर्वले चलायमान बनाएको छ। गत वर्ष दसैं खल्लो र निरश रहे पनि यस वर्ष भने मेलामा राम्रो कारोबार हुने आशा व्यापारीहरुको छ।
 
वीरगन्जको मध्य भागमा लाग्ने गहवा माइको मेला मात्र नभई यस बर्ष घण्टाघरको केही दुरीमै बिपी उद्यान र आदर्शनगर मैदानमा गरी दुई वटा छुट्टाछुट्टै रमाइलो मेला घटस्थापनादेखि नै सुरु भएका थिए।
 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया गत वर्षको बन्दहडताल र नाकाबन्दीका कारण प्रभावित व्यापारलाई यस वर्ष वीरगन्जमा लागेको दसैं मेला र बजारमा उपभोक्ताको चहलपहलले प्राण दिएको बताउँछन्। 'अहिले वीरगन्जमा सबै चिजको कारोबार राम्रो भइरहेको जानकारी पाएको छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell