
काठमाडौं : दसैंमा प्राय: सार्वजनिक सवारीसाधन उपत्यकाबाहिर जाने भएकाले उपत्यकामा सवारी संख्या न्युन हुन्छ। सप्तमीदेखि द्वाशीसम्म सर्वसाधारण सार्वजनिक सवारी सेवा कमै लिन पाउँछन्।
उपत्यकामा यो समयबाट सवारीको अभावमा टीका थाप्न जान निकै मुस्किल पर्छ। दसैंको यो समस्यालाई ध्यानमा राख्दै नेपाल प्रहरी र नेपाली सेनाले नि:शुल्क बस सञ्चालन गरेको छ। सरकारले ४५ वटा बस नि:शुल्क सञ्चालन गर्ने भएको हो।
काठमाडौंको भित्री सडकसहित रिङरोड परिक्रमा गर्ने गरी नि:शुल्क बस सञ्चालन गरेको हो। नेपाली सेनाले दसैं मनाउन घर फर्केनेको समस्यालाई ध्यानमा राख्दै असोज १८ गतेबाट बिदामा घर जाने नेपाली सेना र उनीहरुको परिवारलाई काठमाडौंबाट इटहरी, हेटौंडा, दोलखा, रामेछाप, चौतरा, त्रिशूली, धादिङ, पोखरा, धनगढी, बुटवल, नारायगढसम्म बस सञ्चालन गरिरहेको छ।
सेनाले महानवमीदेखि एकादशीसम्म गैरसैनिकलाई काठमाडौं उपत्यकामा ८ वटा बस चलाउने भएको छ। नेपाल प्रहरीले पनि दसैं अवधिभर नि:शुल्क बस सेवा सञ्चालनमा ल्याइसकेको छ। प्रहरीले बिहान १० बजेदेखि ७ बजेसम्म बस चलाउँदैछ।
ती बस नक्साल, पुलतीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्साल पुग्नेछन्।
सरकारी निकायहरुले दसैंको बेला नि:शुल्क चलाएको बसको सुविधा लिन पाएका यात्रुहरु खुसी छन्।