
बिहार स्कुल एक्जामिनेसन बोर्डको आर्टस् तर्फको १२ कक्षाको परीक्षा टप गरेका रुवी राईले कहिल्यै पनि उत्तरपुस्तिकामा लेखिनन्। उनको उत्तरपुस्तिकामा विज्ञहरुले नै लेखेको अनुसन्धानबाट खुलेको छ।
फोरेन्सिक विज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा टप गर्ने राईको ह्यान्ड राइटिङ नमिलेको खुलेको हो।
गत मे महिनामा परीक्षाफल प्रकाशित हुँदा टप गरेकी राईले मिडियाले सोधेको सामान्य प्रश्नसमेत मिलाउन सकेकी थिइनन्। उनले उत्तर दिन नसकेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यसले विहारको शिक्षामाथि नै प्रश्न तेर्स्याएको थियो।
एसएसपी मनु महाराजाले बताएअनुसार कूल ६ विषयमध्ये रुवीले होम साइन्समात्रै लेखिन् बाँकी अंग्रेजी, हिन्दी, भूगोल, राजनीतिशास्त्र र संगीतको परीक्षा अरुहरुले नै दिए।
उनको परीक्षापत्रमा बोर्डको वाटरमार्क नरहेकोसमेत प्रहरीले जनाएको छ। उनको परीक्षापत्र बाहिर नै तयार भएको प्रहरीले जनायो।
यो घटनालाई लिएर चर्को बहस छेडिएपछि मुख्यमन्त्री नीतिश कुमारले नै घटना अपराधजनक भएको भन्दै अनुसन्धानका लागि निर्देशन दिएका थिए।
विवादपछि बोर्डले पछि १४ जना परीक्षार्थीलाई पुन: परीक्षा दिन भनेको थियो जसमा ५ सय पूर्णाङ्कमा ४ सय ४४ स्कोर गर्ने रुवी सहभागी भइनन्। उनले बिरामी भएको बताउँदै परीक्षा दिइनन्।