PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भक्तपुरमा नौराते मेला मनाइयो



पहिलोपोस्ट

भक्तपुर : दसैँको अवसरमा भक्तपुरमा नौ रातसम्म मनाइने नौराते मेला यहाँका बासिन्दाले भव्यरुपमा मनाएका छन् । यहाँका नौवटा शक्तिपीठमा राति लाग्ने मेलालाई नौराते मेला भन्ने गरिन्छ ।
 
नौ दिनसम्म मनाइने मेलाको घटस्थापनाको पहिलो दिन भक्तपुरको च्यामासिंहस्थित ब्रह्मायणीमा मेला लागेको थियो ।
 
बर्सेनि आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि भक्तपुरमा नौराते मेला लाग्ने गर्दछ । बेग्लाबेग्लै नौवटा शक्तिपीठमा नौ दिन र रात मेला लाग्ने भए पनि भक्तपुरका बासिन्दाले भने दिनमा भन्दा पनि रातिको मेला भर्ने प्रचलन भएकाले पनि यसलाई नौराते मेला भन्ने गरिन्छ ।
 
केटाकेटी युवायुवती हुँदै बूढाबूढीसम्मले राति ७ बजेदेखि नै शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । मेला भर्न आउनेले टोलटोलबाट बाजागाजासहित रमाइलो गर्दै हजारौँ जात्रालु उल्लासका साथ मेला भर्न मन्दिर जाने गर्दछन् ।
 
परम्पराअनुसार पहिलो दिन ब्रह्मायणी र दोस्रो दिन महेश्वरी मेला लाग्ने गर्दछ । त्यसैगरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन महाकाली, छैठौँ दिन महालक्ष्मी, सातौँ दिन इन्द्रायणी, आठौँ दिन त्रिपुरासुन्दरी र नवौँ दिन बाराहीस्थानमा गरी नौ दिन नौ रात शक्तिपीठमा भव्य मेला लाग्ने गर्दछ ।
 
पहिलो दिन ब्रह्मायणीबाट सुरु भएको मेला दशमीको दिन अर्थात् अन्तिम दिन ब्रह्मायणीमै मेला लागेर सम्पन्न हुने प्रचलन छ । पहिलो र अन्तिम दिन गरी ब्रह्मायणीमा दुई दिन विशेष मेला लाग्छ ।
 
नवमी साँझ भक्तपुर नगरपालिका–३ गछेंमा राखिएको महिषासुरको प्रतीक खम्ये (राँगो) जात्रा गर्ने परम्परा रहेको छ । भक्तपुरको दसैँको मुख्य आकर्षणको रुपमा यसलाई मनाइन्छ । त्यही रात ब्रह्मायणीमा राँगो वध गरिन्छ र भोलिपल्ट विजयादशमीको दिन भव्य मेला लाग्ने गर्दछ ।
 
सोही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायोजात्रा (खड्गजात्रा) गरी नगर परिक्रमा गराइन्छ भने यसलाई स्थानीय भाषामा पायो न्हयाकेगू जात्रा पनि भन्ने गरिन्छ ।
 
यो जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेकाले नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा यो जात्रा भक्तपुरमा मनाउँदै आएको संस्कृतिकर्मीहरु बताउँछन् । यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वाससमेत गरिन्छ ।
 
यसैगरी, भक्तपुरको तलेजु भवानी मन्दिरमा पनि मेला लागेको छ । घटस्थापनामा बिहान शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याइएपछि सुरु भएको दसैँमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकी तलेजुलाई विधिवत् दसैँघर पु¥याएपछि घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ ।
 
यहाँ सप्तमीदेखि महानवमीसम्म ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिई जात्रा मनाइने परम्परा छ भने जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा रहेको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell