PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

केडिया अपहरणमा संलग्न भारतीय अपराधीको इनकाउन्टर



राधेश्याम पटेल

केडिया अपहरणमा संलग्न भारतीय अपराधीको इनकाउन्टर

वीरगन्ज : पर्सा प्रहरीले आइतबार राती एक भारतीय अपराधीलाई वीरगन्जमा इन्काउन्टर गरेको छ। चार महिना अगाडि वीरगन्जका उद्योगी सुरेश केडिया अपहरण काण्डमा संलग्न रक्सौलका दिलशाद आलमको इन्काउन्टर गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले वीरगन्ज –१८ शिरोमणी चोक नजिक आलमको इन्काउन्टर गरेको हो। शिरोमणि चोक वीरगन्ज – प्रतिमा चोक बाइपास सडकखण्ड अन्तर्गत पर्दछ।

यता, पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठका अनुसार प्रहरीको जवाफी कारवाहीमा एक जना अपराधी मारिएको पुष्टि गरे। चेकजाँचको क्रममा शिरोमणि चोकमा खटिएका सुरक्षाकर्मीमाथि गोली चलाउन खोज्ने एक अपराधीलाई मारिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। मारिएका अपराधी र उनलाई प्रहरीको कति गोली लागेको बारेमा पर्सा प्रहरीले केही बताएको छैन।

भारतीय नम्बरको मोटरसाइकलमा दुई जना सवार भइ बसपार्क गइरहेको बेला प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बस्नेले पेस्तोल निकाली प्रहरीमाथि गोली चलाउन खोज्दा प्रहरीको जवाफी फायरिङमा  पेस्तोल ताक्नेको मृत्यु भएको पर्सा प्रहरीको भनाई छ। मृतक अपराधीको शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ।

नम्बर नखुलेको भारतीय मोटरसाइकलका चालक, मोटरसाइकलसहित भाग्न सफल भएका छन्। उनको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीद्वारा मारिएका दिलशाद मेला हेर्न वीरगन्ज आएका थिए। सोही मौका छोपी पर्सा प्रहरीले गोप्य सूचनाको अधारमा इन्काउन्टर गरेको  स्रोतले जानकारी दिएको छ। एक साता अघि पर्साका एसपी श्रेष्ठले वीरगन्जमा अपराधी घटना घटाउन भारतीय अपराधी यदि कोही आयो भने फर्केर जादैन भनेका थिए। वीरगन्जको सुरक्षा व्यवस्थाका बारेमा छापिएको समाचारको सम्बन्धमा उनले यस्तो प्रतिक्रिया दिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell