PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा लाग्यो दर्शनार्थीको घुइँचो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन अर्थात् महानवमी।बडादसैंको महानवमी आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा र बलि दिएर धुमधामका साथ मनाइँदैछ।
 
आजको दिन दसैंघर र कोत लगायत देशभरका विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा तथा राँगाको बलि दिने प्रचलन छ। आजै दुर्गा भवानीको विशेष पूजा दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ। नवमीमा पशुबलि नदिनेहरुले कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलको बलि दिई चढाउने गरेका छन्। अधिकांश स्थानमा महाष्टमीमा बलि दिने र महानवमीमा चाहिँ मार हान्ने चलन छ।
 
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।
 
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा हुन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजा सहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ।
 
कालरात्रिका अवसरमा हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ। यहीँ रहेको तलेजु भवानीको मन्दिर भने वर्षमा एकपटक महानवमीकै दिन मात्र खुल्ने भएकाले बिहान सबेरैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ। आज करिब ७० हजारदेखि ८० हजारले उक्त मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाकी निर्देशक सरस्वती सिंहले वर्षमा एकपटक मात्र सो मन्दिर खोलिने भएकाले काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका दर्शनार्थीको समेत सहभागिता बढ्ने बताइन्।


ट्रेन्डिङ पोस्ट

Ncell