
ताप्लेजुङ : ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।
गएराति करिब १ बजे भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन्। घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।
स्थानीयले बताएअनुसार कृष्णप्रसाद दाहालको भान्छाकोठा नजिकैको दाउराको हारबाट आगलागी सुरु भएको थियो। तर प्रहरीले भने आगलागीको कारण यकिन नभएको बताएको छ।
आगलागी भएको जानकारी पाउनासाथ स्थानीयवासी, प्रहरीले आगो नियन्त्रणको प्रयास गरे पनि रातको समय भएकाले समयमा नै आगलागी नियन्त्रण हुन नसकेको खेवाङ प्रहरी चौकीले बताएको छ। आगलागी अहिले बिहान मात्रै नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीका कारण लाखौँ मूल्य बराबरको क्षति भएपनि क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन। आगलागीले मानवीय क्षति भने भएको छैन।रासस