PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चचहुई… सररररर…



सविन ढकाल

चचहुई… सररररर…

काठमाडौं : दसैंको उमंग गाउँसहरमा भित्रिइसकेको छ। आकाशका चंगा उड्न थालिसकेका छन्। रोटेपिङ, लिंगेपिङको 'चचहुई'ले दसैं आगमनमा रौनक थपेको छ।
 
नेपालका ग्रामीण भेगमा सप्तमीदेखि नै दोबाटो, चौबाटो, चौतारो, खुला सार्वजनिक स्थानमा मच्चिन थालेका पिङका लठ्ठाले दसैंको परम्परालाई अझ कसिलो बनाउँदैछन्।
 
टीका, जमरा, चंगासँगै जोडिएर आउने दसैंको अर्को महत्वपूर्ण अंग पनि हो पिङ। भनिन्छ- दसैंका एक न एक दिन धर्ती छोड्नुपर्छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो। यही विश्वासले पनि दसैंसँग जोडिएर आएने पिङको महत्व बढी छ।
 
पहिलेपहिले राजधानी लगायत देशका सहरी क्षेत्रमा समेत पिङ हाल्ने र खेल्ने गरिए पनि अहिले भने मुख्य सहर बजारमा कमै मात्रमा पिङ देख्न पाइन्छ।
 
तर बढ्दै गएको सहरीकरण र आधुनिकताले परम्परागत पिङहरु बिस्तारै लोप हुँदै गएका छन्। राजधानीमा धेरै समय मानिस व्यस्त हुने र खुला ठाउँको अभाव भएकाले पिङ हाल्ने ठाउँ पाउन पनि गाह्रो हुँदै गएको छ।
 
युवापुस्ता, बालबालिका मात्र होइन वृद्धवृद्धमा पनि दसैंमा कमसेकम एक पटक पिङ खेल्नुपर्छ भन्ने मान्यता जीवित छँदैछ।
 
काठमाडौं गोठाटार बस्दै आएका १६ वर्षीय समीर सुवेदी भन्छन्, 'पिङ खेल्ने रहर छ तर नजिकै पिङ नै छैन।' उनी यसपालिको दसैंमा मामाघर चितवन जाँदैछन्। मामाघर गएर मात्र सायद उनको पिङ खेल्ने धोको पूरा हुनेछ। भन्छन्, 'त्यहाँ त बर्सेनि पिङ लगाउँछन्। यो पालि पनि मावल गएरै पिङ खेल्ने रहर मेट्नेछु।'
 
लिंगे पिङका लागि बाँस प्रमुख सामग्री हो। सहरतिर बाँस पाउन गाह्रो छ। पिङको लठ्ठामा विशेषगरी बाबियो प्रयोग हुन्छ भने तराईतिर जुट (पटुवा) प्रयोग गरिन्छ।
 
पिङको महत्व बुझाउन र दसैंमा खुसी थप्न सशस्त्र प्रहरीले राजधानी लगायत देशका विभिन्न स्थानमा हरेक दसैंमा पिङ हाल्ने गरेको छ। सशस्त्र प्रहरीले उपत्यकाका पुनारो बानेश्वर, धुम्वाराही, नारायणटार, सुकेधारा, सिनामंगल, चोभार, खुमलटार, भैसेपाटी लगायतका १६ स्थानमा पिङ हालिदिएको छ। त्यस्तै प्रहरीले उपत्यकाबाहिर विभिन्न जिल्लामा अहिलेसम्म ४० भन्दा बढी ठाउँमा लिंगेपिङ हालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell