काठमाडौं : दसैंको बेला सपरिवार जम्मा हुँदा मीठो खाने कुरा पहिलो नम्बरमा आउँछ। मीठा मीठा परिकार बनाउँदा भान्छा बाट धेरै फोहोर निस्कन्छ। शहर बजारमा त फोहोर उठाउनेको पनि बिदा हुने भएकाले २/४ दिन सम्म फोहोर कोठामै थुपार्नु पर्ने बाध्यता हुन्छ। यस्तोबेलामा फोहोरलाई कौसी तरकारीको लागि उपयोग गरे घरमै उत्पादित सफा र ताजा तरकारी खान पाइन्छ।
के हो कौसी तरकारी?
विषेशगरी शहरी क्षेत्रमा बस्ने मानिससँग जमिन कम हुन्छ। कतिपयसँग त हुँदै हुँदैन। त्यस्तो ठाउँमा मलिलो कालो माटोको, कम्पोस्ट वा गोवर मल प्रयोग गरि थोत्रो जर्किन, बाटा, बाल्टि र प्लास्टिकको प्याकेट आदिको प्रयोग गरि विरुवा वा तरकारी उत्पादन गर्ने विधिनै कौसी तरकारी प्रविधि हो।
कसरी गरिन्छ कौसी तरकारी?
कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, तेल, दुध, चामल, मैदा आदीको प्याकेट फोहोरमा नफाली सुरक्षित राख्नु पर्छ। प्याकेटको मुख पुरै काटेर माटो भरेर कौसीमा राख्नु पर्छ। भान्छा बाटै निस्कने फोहोर पानीलाई बाटा/बाल्टीमा हालेर राख्दा अझ सजिलो हुन्छ। लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरेर राख्यो भने घरभित्रै व्यवस्थापन गर्न सहज पर्छ।
सबै जना बसेर कुराकानी गरिरहेको बेलामा यसो हात सकृय राख्ने हो भने प्याकेटमा माटो भर्ने, बिउ राख्ने काम गर्न सकिन्छ। त्यसो गरे तपाईलाई भेट्न आउने आफन्तले पनि यस बारे ज्ञान पाई फाइदा लिन सक्नेछन्। आवश्यक्ता अनुसार प्लास्टिको छानो हालेर पनि यो खेती गर्न सकिन्छ।
के के उत्पादन गर्न सकिन्छ?
कौसी तरकारी गर्न ठाउँ कति उपलब्ध छ त्यसले के के तरकारी उत्पादन गर्ने भन्ने कुराको निर्क्योल गर्छ। ८ मिटर भन्दा अग्लो ठाउँ उपलब्ध छ भने काक्रा, फर्सी, लौका, घिरौला, लगाएत लहरे बाली पनि लगाउन सकिन्छ। यदि ठाउँ अग्लो उपलब्ध छैन भने गोलभेडा, टामटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न सकिन्छ।
कम्पोस्ट (गड्यौले मल) कसरि बनाउने?
गड्यौले मल बनाउन भान्साबाट निस्केको फोहोरलाई एउटा काठको वाकसमा तह मिलाएर राख्ने। सामान्य तया दुई रुपैयाँ प्रति गोटा पाइने गड्यौला आधा आधा मिटर लम्वाई चौडाई भएको बाकसमा प्रति तहमा ८ देखि १० वटा सम्म राखेर छोड्दा गड्यौलाले फोहोर खाँदै जाने र मल तयार हुँदा फोहोर सबै माटोको दाना दाना जस्तो बन्न पुग्छ। यसका लागि भान्छाबाट निस्कने सजिलै र कुहिने फोहोरलाई एक ठाउँमा राखेर बक्सा आकारको जुनसुकै भाडोमा सजिलै गड्यौले मल बनाउन सकिन्छ।
समय कति दिनु पर्छ?
तरकारी रोपिसके पछि बिहान उठेर हातमुख धुन बाथरुम वा घर बाहिर कतै नजानुस्। तरकारी लगाएको थैलोमा पनि हातमुख धुन सकिन्छ। त्यति गर्न पनि अफ्ठेरो लागे एउटा बाटामा हातमुख धुनुस। जुन पानीले तपाईको तरकारी सिँचाई गर्न पुग्छ। पानी हाल्ने बेलामै तरकारी खान लायक भयो भएन हेर्नुस। दैनिक तपाईको हात लाग्नु भनेको त्यो बिरुवालाई माया गर्नु हो। बिरुवाले माया गरेको थाहा पाउँछ र छिटो ठुलो हुन्छ। हरेक दिन बिहान हातमुख धुने बेलामा कौसीको बिरुवा नजिक पुगी दिए अरु खासै केहि गर्नु नपर्ने कीर्तिपुरमा कौसी तरकारी गरिरहेका किसान समज महर्जनले बताए।
खर्च कति लाग्छ?
कौसी तरकारीमा ज्यामी लगाउनु पर्दैन। गड्यौले मल बनाउन नसके मात्र बजारको मल किन्न पर्छ। बिउबिजनहरु जिल्ला कृषि विकास कार्यलयले अनुदानमा दिन्छन्। यदि निरन्तर रुपमा कौसी तरकारी गर्ने हो भने तपाईले फोहोर गाडीमा फाल्न पर्दैन र मासिक रुपमा फोहोर फाले बापत तिर्ने पैसा बचत हुन्छ। तरकारी किन्न बजारमा जाने पैसा पनि बचत हुन्छ। त्यसैले यसमा खर्च भन्दा धेरै फाइदा हुन्छ।
१०० प्रतिशत शुद्द तरकारी
बजारमा आउने तरकारी छिटो नाफा कमाउने उद्देश्यले विषादी प्रयोग गरि उत्पादन गरिएको हुन्छ। कौसी तरकारी आफैले उत्पादन गर्दा विषादी प्रयोग गरिन्न। त्यो आफैँले उपभोग गर्ने हुनाले पनि त्यसको स्याहार समेत पुर्याइएको हुन्छ। यो दशैंमा सुरु गर्नु भयो भने तपाइँले वर्षभरिनै आफुलाई चाहिने तरकारी घरमै फलाउन सक्नुहुन्छ।