PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

दशैंको शुभकामना दिँदै देउवाले भने : एकजुट भएर संविधान कार्यान्वयन गरौं



पहिलोपोस्ट

दशैंको शुभकामना दिँदै देउवाले भने : एकजुट भएर संविधान कार्यान्वयन गरौं

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक जुट भएरमात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको जनाएका छन्।

‘मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ,’ देउवाले शुभकामना संदेशमा भनेका छन्, ‘मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ।‘

उनले संविधान समय, काल, परिस्थिति, आवश्यकता र जनचाहना अनुसार परिवर्तनीय रहेको जनाउँदै मुलुकसामु रहेका समस्याको आपसी सद्भाव र एकताका आधारमा समाधान गर्न सकिने जनाएका छन्। ‘हामी सबै एकजुट भई समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।

संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपाललाई चिनिने बताउँदै उनले एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्ता अझ बढ्ने जनाएका छन्।

यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उल्लेख गर्दै उनले सबैमा दशैंको शुभकामना दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell