
रसुवा : लाङ्टाङ क्षेत्रमा पुनःनिर्माणअन्तर्गत आवास निर्माण कार्य तिव्र गतिमा अगाडि बढेपछि हिमाली पदयात्रामा जाने पर्यटकलाई खान बस्नमा सहज भएको छ।
लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष पेम्बा लामाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएका लाङ्टाङ क्षेत्रका आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नयाँ आवासका निर्माण कार्य अगाडि बढेपछि अहिले त्यस क्षेत्रको ग्रामीण बस्तीको स्वरुप नै बदलिएको छ।
नयाँ आवास निर्माण भएपछि लाङ्टाङमा १०० जना र क्याङ्जेनमा ३०० जना पर्यटक अटाउने कोठा तयार भइसकेकाले लाङ्टाङ तथा क्याङ्जेन पुग्ने पदयात्री पर्यटकलाई खान र बस्नमा सहजता आइसकेको बताए।
स्याफ्रुबेसी वम्वुतर्फको एउटा र स्याफ्रुबेसी खाम्जिङतर्फको अर्को गरी दुईवटा पदमार्ग मर्मत एवम् पुनःनिर्माण भइसकेका छन्। सामान ढुवानीका लागि समरिटन पर्स नामक गैरसरकारी संस्थाको सहयोगमा खच्चरसमेत व्यवस्था भइसकेकाले भरियाको अभावमा खच्चरले काम गर्ने अध्यक्ष लामाले बताए। रासस