
काठमाडौं : आज आश्विन शुक्ल दशमी। अर्थात् विजयादशमी। नेपाली हिन्दुधर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन्। यसलाई बडादसैं पनि भनिन्छ। आजदेखि सुरु भएको टीका लागाउने क्रम भने पूर्णिमासम्म जारी रहन्छ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजयादशमी भनिएको हो।
घटस्थापनाको दिन पूजाकोठा तथा दसैंघरमा नौ दिनसम्म पूजा गरी राखेको पहेँलो जमरा र रातो टीकासँगै ग्रहण गर्ने चलन छ। अरु फुलको सट्टा जमरालाई समृद्धिको प्रतीकका रुपमा लिइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितका अनुसार यो वर्षको दसैंको टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनटेमा रहेको छ। ८ बजेर २५ मिनेटमा देवी विर्सजनको साइत रहेको समितिले जनाएको छ।
आजका दिन परिवरका आफूभन्दा ठूला मान्यजनको हातबाट टीका लगाई उनीहरुबाट यश, ऐश्वर्य, बुद्धि, दीर्घायु प्राप्तिको आशीर्वाद लिने गरिन्छ। आज बडादसैंको मुख्य दिन भए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म नै रहन्छ।देशका केही भेगमा भने आजको दिनमात्र टीका लगाउने चलन पनि छ।
दसैंको अवसरमा नया वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसारको मिठोमसिनो परिकार खाने, रमाइलो गर्ने परम्परा छ। दसैंको पर्वले काम, क्रोध, लोभ, मोह, अहंकार, हिंसा आदि त्याग्न प्रेरणा दिने विश्वास छ।