
रत्ननगर (चितवन) : दसैंका अवसरमा चितवन भरतपुर कारागारका पाँच कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ।
चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँच जना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए।
सात जनाका लागि सिफारिस भएकोमा पाँच जनाको मात्रै माफी भएको हो।
यसपालि दसैंमा आममाफी पाएकाहरुमा बहुविवाह मुद्दाका सुमन खड्गी, कर्तव्य ज्यानका रामकृष्ण तिमिल्सिना, झंकु चौधरी र रामबहादुर तामाङ तथा ज्यान मार्ने उद्योगका भक्तबहादुर खत्री रहेको भरतपुर कारागार चितवनले जनाएको छ।
चितवनमा अहिले क्षमताभन्दा दोब्बर कैदी र थुनुवा राखिँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ।
जिल्ला कारागार २५५ जना राख्न मिल्ने क्षमताको छ। अहिले ५७७ जनालाई राखिँदा सकस भइरहेको प्रमुख काफ्ले बताउँछन्र
यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा १७ जना कैदीलाई माफी दिई रिहाइ गरिएको थियो। संविधान दिवसका बेला २० जनाको सिफारिसमा १७ जनाको माफी भएको हो।रासस