काठमाडौं : कम्युनिस्ट राजनीति परित्याग गरेर जनजाति आन्दोलमा अग्रसर बनेका गोरेबहादुर खपाङ्गीसँग पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राम्रो चिनजान थियो।
तर उनीहरु दुवैको राजनीतिक यात्रा एउटै दिशामा अगाडि बढेन। खपाङ्गी जनजाति आन्दोलनमा सक्रिय भइरहँदा दसैँ मनाउनुहुन्न भन्ने एउटा धारको नेतृत्व गर्न पुगे।
अनि नेम्वाङ भने दसैँ मनाउनेलाई मनाउन दिनपुर्छ भन्नेमा लागे। नेम्वाङ भन्छन्, '२०५७/०५८ साल तिरको कुरा हो। हामीले किराँत याक्थुङ चुम्लुङबाट निर्णय नै गरायौं। दसैँ मनाउने विषय व्यक्तिगत स्वतन्त्रताको विषय हो।'
त्यसबीच दसैँको एक दिन नेम्वाङको खपाङ्गीसँग अकस्मात् भेट भयो। अनामनगरको दिदीको घरबाट टीका थापेर बाहिर निस्किएका नेम्वाङलाई खपाङ्गीले तलदेखि माथिसम्म हेरे। अनि भने, 'सुवासजी तपाईँ पनि यस्तो?'
नेम्वाङ पहिलादेखि नै दसैँ मनाउँथे र टीका पनि ग्रहण गर्थे। नेम्वाङलाई देखेका खपाङ्गीले उनको निधारको टीकाप्रति आश्चर्य जनाएका थिए।
खपाङ्गी त्यसपछि राजको सक्रिय शासनकालमा मन्त्री बने। मन्त्री बनेका खपाङ्गीले दरबारमा पुगेर टीका ग्रहण गरे। राजदरबारका बडा गुरुज्युले उनलाई टीका लगाइदिए।
त्यसपछि फेरि भेट भयो नेम्वाङको खपाङ्गीसँग।
जवाफ फर्काउने पालो थियो नेम्वाङको। नेम्वाङले भने, 'तपाईँले दसैँको टीका लगाएको टिभीमा हेरेर मैले पनि लगाएँ।'
खपाङ्गीको गत भदौमा निधन भइसकेको छ। नेम्वाङ भन्छन्, 'मेरो उनीसँग सँधै राम्रो सम्बन्ध रह्यो। उनीसँग दोस्ती रह्यो।'
खपाङ्गी त बितेर गइसके तर नेम्वाङको मानसपटलमा भने यी दुई दसैँ स्मरण अमेट छ।