रत्ननगर (चितवन) : रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताए।
डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो।
यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क परीक्षण हुँदै आएको डेङ्गु योपटक भने रत्ननगरमा समेत निःशुल्क परीक्षण हुन थालेको हो।
रत्ननगरमा दसैँका बेलामा डेङ्गु सङ्क्रमण झन बढेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले थप ५० वटा किट उपलब्ध गराएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए।
उनकै नेतृत्वमा जिल्लामा तीन दिनअघि रोग नियन्त्रणका लागि यहाँ केन्द्रीय टोलीले ५० थान किट दिएको र केही किट जिल्ला जनस्वास्थ्य कार्यालमा समेत किट स्टक राखिएको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।
चितवनमा पछिल्लो प्रतिवेदनअनुसार ६०० जनाको परीक्षणमा कुल १२५ जनामा डेङ्गु सङ्क्रमण भएकामा १०४ बिरामी चितवन निवासी छन्। उनीहरुमध्ये ८५ जना रत्ननगरका बिरामी रहेको केसीले बताए।
एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गुको आरएनए समूहको फ्लभी भाइरस मानिसमा सर्दा यो रोग लाग्छ।
कुनै पनि भाँडामा एक हप्ताजति जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले पानी जम्न नदिनु नै रोगबाट बच्ने मुख्य उपाय भएको बताइएको छ।रासस