PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भक्तपुरमा सेता घोडाजात्रा मनाइयो



पहिलोपोस्ट

भक्तपुर : बडादसैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ। सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ।
 
विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ। जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइ सकेपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने प्रचलन रहेको छ।
 
तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिने गरिन्छ। जात्राको क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने पनि गरिन्छ। घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ।
 
त्यसैगरी बडादसैँको दसौंदिन मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा पनि गएराति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता ) लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।
 
बडादसैँको साझपख तलेजु आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ। जात्राको क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell