PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दसैंले छोएन प्रहरीलाई, भन्छन्- 'हामीले नै रमाइलो गर्न थाल्यौं भने अरुले कसरी सुरक्षित मनाउलान्?'



सविन ढकाल

दसैंले छोएन प्रहरीलाई, भन्छन्- 'हामीले नै रमाइलो गर्न थाल्यौं भने अरुले कसरी सुरक्षित मनाउलान्?'

काठमाडौं : यतिखेर दसैं मान्ने सबै नेपाली घरघरमा हर्षोल्लासका साथ रमाइरहेका छन्। निधारमा रातो टीका अनि शिर र कानमा जमरा सिउरिएर हिँड्नेको चहलपहलले सडकमा रौनक थपिएको। जताजतै दसैंमय भएको छ वातावरण।
 
सप्तमी अर्थात् फुलपातीदेखि सबै सरकारी तथा निजी कार्यलय समेत बन्द छन्। यसो हुँदा निजामती कर्मचारीहरुलाई पनि यति बेला फुर्सद छ। सबै जना कामधाम छोडेर चाडपर्वमा सुखानुभूति गरिरहेका बेला सुरक्षामा तैनाथ प्रहरीलाई भने दसैंमा झन् भ्याइनभ्याई छ। झनै व्यस्त बनेका छन् उनीहरु।
 
चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधिलाई कसरी न्युनीकरण गर्ने भन्ने योजनाको साथ फिल्डमा प्रहरी खटिएका छन्। उनीहरुलाई पनि आम मानिसझैं घरपरिवारसँगै रहेर दसैं मनाउने चाहना नभएको भने होइन। मनभरि चाहना गुम्स्याएर पनि राष्ट्रको सेवामा उनीहरु अहोरात्र खटिइरहेका छन्।
 
महानगरीय प्रहरी परिसर काठमाडौंमा करिब ३२ सय प्रहरी कार्यरत छन्। परिसरमा कार्यरतमध्ये विशेष बिदाबाहेक सबै प्रहरी जनताको जनधनको सुरक्षा र शान्ति, अमनचयनको लागि खटिएका छन्। चाडपर्वमा आपराधिक गतिविधि र चोरी लुटपाट बढ्ने भएकाले त्यसको नियन्त्रण गर्नु नै उनीहरुको मुख्य चुनौती रहन्छ। प्रहरीले तीन तहको सुरक्षा योजना ल्याएपछि भने उनीहरुलाई दसैंको जिम्मेवारी बढेको छ
 
प्रहरीहरु यति बेला क्वीक रेस्पोन्स टिम बनाएर नै काम गरिरहेका छन्। कहीँकतै आपराधिक गतिविधि भए खबर गरेको केही मिनेटमा नै घटनास्थलमा पुग्न हतार छ उनीहरुलाई। प्रहरीमा कार्यरत तल्लो तहका कर्मचारी मात्र होइनन् माथिल्लो तहका कर्मचारी पनि जनताको जनधनको सुरक्षा गर्नकै लागि खटिएका छन्।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापा टीकाको दिन पनि कार्यालयमा उपस्थित थिए। प्रहरीमा लागेपछि २९औं दसैं मनाएका उनी यसपटकको दसैं पनि काममै व्यक्त भएर मनाउँदैछन्। भन्छन्, 'आम मानिसले चोरी, अपराध, डकैती, लुटपाट नभएको अनुभूति गरेर हर्षोल्लासपूर्वक दसैं मनाए भने त्यही नै मेरो खुसीको दसैं हुनेछ।' एसएसपी थापा केही बचेको समयमा आफन्तसँग बसेर दसैं बिताउने सुरमा छन्।
 

परिसरमा कार्यरत एसपी प्रद्युम्न कार्कीको दसैं पनि कार्यालयमा नै बितिरहेको छ। उनले दसैं बिदा लिएका छैनन्। उनी पनि कार्यालय समयबाहेक बचेको समय मात्र दसैंलाई उपयोग गर्दैछन्। 
 

चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी वसन्त कुँवर पनि दसैंको सप्तमीको दिन जनताको सुरक्षाको लागि नै तैनाथ थिए। केही सातादेखि त्रिशूली नदीमा हराएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी रिपोर्टका लागि उनी त्यता पनि व्यस्त नै छन्।
 
राष्ट्रसेवकका रुपमा रहेका प्रहरीहरु हत्तपत्त बिदा पाउँदैनन्। तर दसैंमा बिदा नपाउनेहरुले पनि आफ्ना सहकर्मीका साथ आपसमा रमाउने कोसिस भने गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell