
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै नयाँ गन्तव्य थप गर्न लागेको छ। निगमले जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्न लागेको जनाएको हो।
त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी)माग भइरहेको निगमका प्रवक्ता रामहरी शर्माले बताए। 'जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ,' उनले भने 'अष्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकी छ।'
निगमले जापानमा हप्ताको दुईदेखि तीन पटक, साउदी अरेवियाको दमाम र रियादमा हप्ताको चार पटक र दक्षिण कोरियको सोलमा हप्ताको दुईदेखि तीन पटक उडान भर्ने निश्चित भएको जनाएको छ। त्यस्तै अष्ट्रेलियामा भने कति पटक उडान हुने भन्ने निश्चित हुन बाँकी रहेको शर्माले जानकारी दिए।
अष्ट्रेलियका लागि एएसएका लागि सरकारले पहल गरिरहेको शर्माले जानकारी दिए। नयाँ जहाज आइपुग्नु अगावै एएसएको काम सक्ने उनले बताए। हवाइ कनेक्टिभिटीको अभावले नेपालमा पर्यटक आएनन् भन्ने अब कहिल्यै सुन्न नपर्ने शर्माले बताए।
गत महिना नयाँ जहाज किन्न चाहिने ऋणका लागि सरकार जमानी बस्ने निर्णय पर्यटनमन्त्री स्तरीय बैठकले गरेको थियो। त्यसपछि जहाज खरिद प्रकृया अघि बढेको हो। यसका लागि निगमले टेण्डरसमेत निकालिसकेको छ।
प्रति विमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ ।
दुईवटा वाइड बढी एयरबस जहाज खरिद गर्नको लागि करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान निगमले गरेको छ। वाइड बढी जहाजमा २६० देखि २८० वटा सिट क्षमता हुन्छ । ती जहाज ल्याए पछि निगमले नेपालमा बाह्य उडान बजार हिस्सा बढाएर १८ प्रतिशत पुर्याउने लक्ष राखेको छ।
सन् २०१७ को मार्च भित्र 'एयरबस ३३०–२२०' वाइड बडी ल्याइ सक्ने निगमले जनाएको छ।