PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

ममताको दसै‌ं यस्तो



पहिलोपोस्ट

  • ममता थापा, क्रिकेट खेलाडी
दसैं आएसँगै अझै पनि गाउँघरतिर कालापहाडबाट आउने नेपालीहरुको लर्को नै लागेको हुन्छ। बाटोमा सार्वजनिक सवारी र रिक्साहरु भरिएको देख्दा मात्र मलाई अबचाहिँ दसैं भित्रिएछ जस्तो लाग्छ।
 
सानो छँदा पहाड घर सल्यानमा रहेको मामाघर जाने एउटा अवसर नै हुन्थ्यो। विद्यालयको परीक्षापछि दसैं-तिहारको लामो बिदा सबैभन्दा रमणीय बन्थ्यो। बाजे, बज्यैलाई भेट्नु, पिङ खेल्नु र टन्नै दक्षिणा पाउनु आज सम्झिँदा पनि रमाइलो लागेर आउँछ। तर, अहिले ६ वर्ष नै भइसक्यो मामाघर जान नपाएको।
 
बाल्यकालको दसैं रमाइलोले भरिपूर्ण थियो। जति ठूलो हुँदै गयो त्यति बिदाको संख्या घट्दै जाँदो रहेछ। पछिल्ला दसैंहरु त कामको चापले गर्दा रमाइलो नगरी ने बित्ने गरेको छ।
 
मिडियामा काम गर्ने भएकाले यो पटकको दसैंको टीका लगाएर अफिस जानुपर्ने बाध्यता अरुको जस्तो मेरो पनि हो।
 
घरमा दादाहरुले तास खेलेको देख्दा दसैं आएको जस्तो लाग्छ। म त्यति खेल्दिनँ तर टीकाको दिनमा दादाहरुसँगै खेलेँ। घटस्थापनाभन्दा अगाडिबाट नै दिदीसँगै हामी सपिङमा निस्केक थियौं। अष्टमीसम्म पनि सपिङ नै थियो। दसैंमा मेरो बढी खर्च आफ्नै लागि हुन्छ। पहिरन, जुत्ता, पहिरनसँग म्याचिङ झुम्का, चुरा, मेकअपमा  खर्च हुन्छ। सीमित नजिकका मित्र र आफन्तहरुलाई गिफ्ट दिँदा पनि खर्च हुन्छ।
 
पहिलाको दसैंमा घर सफा गर्न मम्मीलाई सघाउँथे तर अहिले घर जाने समेत फुर्सद छैन। दुई वर्षअगाडिको दसैं कोरियामै एसियन गेम्समा मनाइएको थियो। यो पटक साथीहरु वर्ल्डकप क्वालिफायरका लागि हङकङमा गएको बेला घरमै दसैं मनाउँदै गेमको अपडेट हेर्दै नेपाललाई सपोर्ट गरिरहेँ।
 
व्यस्त त छु तर दसैंभर जति समय छ त्यसलाई इन्जोय गर्दै मनाउँछु। घरको अगाडिको चौरमा पिङ लागेको छ। दिदीको छोराछोरीसँगै रमाइरहेकी छु। वर्ष दिनको चाडमा परिवारसँगको जमघटले निकै रमाइलो भइरहेको छ।
 
म घरकी कान्छी छोरी भएकाले अझै पनि सबैसँग टीका लाउँदा सबैभन्दा धेरै पैसा मेरै हुन्छ र सानोमा जस्तै अहिले पनि मेरो दिदी र मैले कसको पैसा बढी भयो भन्नेमा हिसाब गर्छौं।
 
यो सँगसँगै दसैंका बेला मात्तिने गरी रक्सी खाएर होहल्ला गर्दै हिँड्नु गलत लाग्छ। तास खेलिए तापनि एक छिन रमाइलोका लागि खेल्नु ठिक हुन्छ।
 
यो वर्षको दसैं अझै केही दिन बाँकी नै छ। सबैजना एकापसमा मिलेर, दु:खसुख साटासाट गर्दै सद्भावपूर्ण दसैं मनाऔं।

(थापासँग पहिलोपोस्टका गोविन्दराज नेपालले गरेको कुराकानी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell