PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पवित्र जलको अपवित्र व्यापार



अमर बडुवाल

काठमाडौं : काठमाडौंमा खानेपानी अभावको मौका छोपी जारमा राखेर अखाद्य पानी बेच्ने प्रवृत्ति रोकिएको छैन। अझ चाडबाड जस्तो मान्छे धेरै व्यस्त हुने र आफुले किनेका सामानको गुणस्तर परिक्षण नगर्ने समयमा त्यसरी ठगी गर्नेहरु झनै सकृय हुने गरेका छन्।
 
कम्पनीहरुले मनपरी ढङ्गले फोहोर पानी सप्लाई गरिरहेको खाद्द प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कले देखाउँछ।
 
चालु आर्थिक वर्षको २ महिनामा मात्रै एक सय तीन स्थानमा अनुगमन गर्दा ६५ उद्योग/कम्पनीलाई गुणस्तर सुधार गर्न निर्देशन दिनु परेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर  राईले बताए। तीनमा पनि बहुसंख्यक जार एवं ट्याङ्कीमा खानेपानी बेच्ने कम्पनी छन्। राईका अनुसार एक सय तीन उद्योग मध्ये ५५ वटा पानी उद्योग मात्र हुन्।
 
कुल ६५ उद्योगलाई सुधारको निर्देशन दिदा २८ वटा पानी उद्योगले सुध्रने चेतावनी पाएका छन्। अनुगनका क्रममा गुणस्तरमा हदै सम्म हेलचेक्राइ गर्ने १० उद्योगको उत्पादननै विभागले रोक्का गरेको छ।
 
उत्पादन रोकिने मध्ये पनि छ वटा पानी उद्योग छन्। रेवट मिनरल वाटर चाल्नाखेल, बुढानिलकण्ठ क्षेत्रको प्राचि मिनरल वाटर सोलुसन, धमला स्टोर (बुढानिलकण्ठ पानी उद्योगको ३३ जार पानी), समर्पित स्टोर (ग्रिनबेरी मिनिरलको १७ जार पानी) निलकण्ठ बेभरेज, बालाजु क्षेत्रको एक्वा मिनिरल वाटर र त्रिकोण बेभरेज ईण्डष्ट्रिजको उत्पादन विभागले रोक्न निर्देशन दिएको हो।
 
चालु आर्थिक वर्ष लागेपछि सरकारले खाद्य जन्य ११ उद्योगलाई गुणस्तरमा हेलचेक्राइ गरेको भन्दै मुद्दा चलाएको छ। तिनीहरु मध्ये आठ उद्योग पानी बेच्ने रहेका छन्।
 
सरकारले मुद्दा हालेका आठ पानी उद्योगः-
हाईल्याण्ड ड्रग्स फुड एण्ड बेभरेज जितपुर फेदी काठमाडौं
बालाजी बेभरेज काठमाडौं
स्फालास मिनिरल वाटर ईण्डष्ट्रिज काठमाडौं
जेन्युन मिनिरल एण्ड बेभरेज भक्तपुर
निलकण्ठ नेचुरल स्प्रिङ वाटर काठमाडौं
त्रिशुली मिनिरल एण्ड बेभरेज मनमैजु काठमाडौं
ग्लेशिया बेभरेज ईण्डस्ट्रिज एण्ड भेजिटेबल जितपुर काठमाडौं
त्रिशुली मिनरल एण्ड वेभरेज मनमैजु २ काठमाडौं
 
यी उद्योगले न्युन गुणस्तरको पानी उत्पादन गरेको, पि एच ६.५ देखि ८ हुनुपर्नेमा सो भन्दा कम भएको र नियम विपरित काम गरेकाले मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्ण बहादुर वस्तीले बताए। अत्यावश्यक वस्तु पानी बिक्री गर्ने कम्पनीको बढ्दो हेलचेक्राइले उपभोक्ता धेरै सचेत हुनु पर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell