- हरिकुमार राई
बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो। गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौंको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रविरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए।
भीमकुमारीको शव ल्याउनेबित्तिकै माइती पक्षका र स्थानीयवासीहरु राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्ष रुपमा जाइलागेपछि झडप सुरु भएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ।
उक्त झडप नियन्त्रण गर्न दर्जनौं राउन्ड अश्रुग्यास प्रयोग गर्नुपरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए। रातिको १२ बजेसम्ममा भिड नियन्त्रण भए पनि अझैसम्म बेल्टारबजार तनावग्रस्त देखिन्छ।
बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी भइरहेको छ।
भीमकुमारीको शव इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको छ।
पाँच दिनअघि मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर भीमकुमारीको वीभत्स हत्या गरेर उनले पनि विष सेवन गरेका थिए। अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ।
राजेन्द्र स्वयं पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको प्रहरीको भनाइ छ।
यसअघि नै राजेन्द्रसहित परिवारका सबै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ।रासस