PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

चोरी रोक्न प्रहरीको नयाँ शैली, पटके चोरको मोबाइल धमाधम ट्र्याक हुँदै



सविन ढकाल

चोरी रोक्न प्रहरीको नयाँ शैली, पटके चोरको मोबाइल धमाधम ट्र्याक हुँदै

काठमाडौं : दसैं-तिहार जस्ता चाडपर्वमा चोरी लुटपाट तथा आपराधिक गतिविधि बढ्ने भन्दै प्रहरीले निगरानी बढाउँछ र विशेष अभियान पनि सञ्चालन गर्छ। दसैं सुरु भएदेखि नै यस पटक प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको थियो। जसका कारण पनि दिउँसोको समयमा घरमा हुने चोरीका घटनामा कमी आएको प्रहरीको भनाइ छ। गएका वर्षहरुमा भन्दा यस पटकको दसैंअघि र पछि हुने आपराधिक गतिविधिमा समेत कमी आएको प्रहरीको दाबी छ।
 
चोरीका घटना कम गर्न दसैं लक्षित मात्र होइन पहिलेदेखि नै प्रहरीले विशेष निगरानी गरिरहेको थियो।
 
राजधानीमा हुने पटके चोरी प्रहरीका लागि 'टाउको दुखाइ' नै हो। एक पटक नियन्त्रणमा लिएर छाडे पनि तिनै चोर पुन: चोरीका घटनामा सामेल हुने गरेका कारण प्रहरीका लागि विशेष निगरानी आवश्यक थियो। सोही अनुसार दसैंअघि १ सय १८ जनालाई नियन्त्रणा लिएर कारबाही सुरु गरेको छ।
 
पटके चोरहरुबाट दसैंमा चोरी हुन सक्ने सम्भावना बढी भएकाले अगाडि नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए।
 
राजधानीमा प्रहरीको तथ्यांकअनुसार अहिले तीन सयभन्दा बढी पटके चोर सक्रिय छन्। चोरीको अभियोगमा पक्राउ परे पनि उनीहरु कारबाहीबाट मुक्त भएपछि पुन: चोरीकै गतिविधिमा लाग्ने गरेको पाइएको छ।
 
उनीहरुको गतिविधिमाथि निगरानी राख्न पछिल्लो समय भने प्रहरीले चोरहरुको मोबाइल ट्र्याक गर्ने गरेको छ। 'उस्तै गतिविधिमा लागेकाहरुसँग सम्पर्क हुन्छ/हुन्न र फेरि यस्ता गतिविधिमा नलागुन् भनेर उनीहरुको मोबाइल ट्र्याकिङ गरिरहेका छौं,' एसएसपी थापाले भने। यसका लागि चोरी हेर्ने महानगरीय अपराध अनुसन्धानका एक्सपर्ट प्रहरीलाई परिचालन गरेको पनि उनले जानकारी दिए।
 
प्रहरीले तीन तहको सुरक्षा योजनाअनुसार चोरी पत्ता लगाउने विशेष कुकुर समेत परिचालन गरेको छ। यसले समेत चोरी तथा अन्य आपराधिक घटना नियन्त्रण सघाउ पुग्ने एसएसपी थापा बताउँछन्। (प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell