काठमाडौं : योङ नम किम। दक्षिण कोरियन नागरिक।
पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजारभन्दा बढीले भाषा परीक्षा दिने देश हो कोरिया।
किम भने त्यही देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेसा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उद्देश्य छन् उनका।
किमले ललितपुर कार्यविनायकमा प्राइम एग्रिकल्चर फार्म स्थापना गरी वार्षिक एक लाख ८२ हजार लिटर दूध, ३० मेट्रिक टन तरकारी, २५ वटा बँगुर र त्यति नै भैंसी पाल्ने लक्ष्य राखेका छन्। ५० लाख रुपैयाँ लगानी गर्ने उनले २५ नेपालीलाई रोजगारी समेत दिनेछन्।
त्यस्तै अर्का कोरियन नागरिक हुन् चानग्यूक हान।
हानले लमजुङ जिल्लाको विचौर गाविस-३ मा विचौर अर्गानिक फार्म स्थापना गरी वार्षिक ९० मेट्रिक टन अर्गानिक तरकारी उत्पादन गर्ने लक्ष्य लिएका छन्। ५० लाख रुपैयाँको लगानीमा सुरु गर्ने उक्त फार्ममा १६ जनाले रोजगारी पाउनेछन्।
नेपालीको पुर्ख्यौली पेसा कृषिमा उन्नति नदेखेर युवाहरु विदेश पलायन भइरहेका बेला यी कोरियन नागरिकले भने नेपालमा खेतीपातीबाटै तरक्की गर्ने सपना साँचेका छन्।
उनीहरुले आफ्नो फार्म उद्योग विभागमा दर्ता गरी लगानी प्रतिबद्धता समेत जनाइसकेका हुन्। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विभागमा दर्ता भएका १२० उद्योगमध्ये कृषिका पाँच वटा उद्योदग मात्रै छन्। तीमध्ये दुई कोरियन र एक चिनियाँ नागरिकले दर्ता गराएका हुन्। नेपालीले पनि दुई वटा व्यावसायिक कृषि उद्योग दर्ता गराएका छन्।
कृषि क्षेत्रमा दर्ता भएका पाँच उद्योगमा कुल २६ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ११० जनालाई रोजगारीको अवसर पनि सिर्जना हुनेछ।