वीरगन्ज : वीरगन्जमा गएराति अत्यधिक मदिरा सेवनका कारण एक युवकको मृत्यु भएको छ। वीरगन्ज – ४ विर्ता, गणेशमान चोकका ३२ वर्षीय गोपाल शर्माको अध्यधिक मदिरा सेवनले मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।
गोपाललाई आज विहान ६ बजे मृत अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले उनको शव वीरगन्जको महवीर मन्दिर नजिक नालाबाट बरामद गरेको पर्सा प्रहरी प्रमुख डा. राजुबाबु श्रेष्ठले बताए। बुधबार साँझदेखि घरबाट बाहिर निस्किएका गोपाल, महावीर मन्दिर नजिकैको नालामा बिहिबार बिहान मृत अवस्थामा फेला परेपछि घरपरिवारमा पीडा थपिएको छ।
महावीर मन्दिर नजिक जडान गरिएको सिसि टिभी क्यामेरामा कैद भएको दृश्य अनुसार, बुधबार राति १२ बजेर १८ मिनेटको समयमा मदिराको नशामा रहेका गोपाल, हिँडने क्रममा अनियन्त्रित भइ आफै लडेर नालामा खसेको र टाउकोमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको हुन सक्ने अनुसन्धानले देखाएको छ। शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।