PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ग्यालेक्सी नोट सेभेनमा पछारियो सामसङ, मोबाइल सेट 'किल'को घोषणा



पहिलोपोस्ट

ग्यालेक्सी नोट सेभेनमा पछारियो सामसङ, मोबाइल सेट 'किल'को घोषणा

  • प्रभात भट्टराई/पहिलोपोस्ट-
काठमाडौँ : सामसङले अन्ततः ग्यालेक्सी नोट सेभेनबाट हात उठाएको छ। कम्पनीले अत्यन्त महत्वाकांक्षा साथ बजारमा ल्याएको फोनको ब्याट्री पड्किने समस्या सुल्झाउन नसक्दा उत्पादन एवं बिक्री नै बन्द गरेको हो।
 
स्मार्टफोन बजारमा एप्पललाई कडा टक्कर दिइरहेको सामसङले यसपाली नोट सेभेन मार्फत उछिन्ने महत्वाकांक्षा लिएको थियो। फिचर थप्ने क्रममा सावधानी नअपाउँदा कम्पनी आफैं गम्भीर विश्वासको संकटमा फसेको छ। नोट सेभेनको असफलताले भोलिका दिनमा नयाँ उत्पादन ल्याउँदा समेत कम्पनीलाई पुनरोदय गर्न कठिन पर्ने विश्लेषकहरुले बताएका छन्।
 
ग्यालेक्सी नोट सेभेन बजारमा पुगेर पड्किन थालेपछि कम्पनीले फिर्ता बोलाउने निर्णय गरेको थियो। यसरी २५ लाख फोन फिर्ता लिन कम्पनी बाध्य भएको थियो।
 
फिर्ता ल्याएका फोनमा समस्या पत्ता लगाएर समाधान गर्न कम्पनीले लाख कोसिस पनि गर्यो। ब्याट्री आपुर्तिकर्ता कम्पनी बदल्ने र स्मार्टफोनको सफ्टवेयर अपग्रेड गर्ने सम्मको काम कम्पनीले गर्यो। कम्पनीका कार्यकारीहरुले सार्वजनिक रुपमा माफी समेत मागे।
 
तर जब फिर्ता गरिएका फोनहरु रिप्लेस गरिए, उपभोक्ताबाट गुनासो बर्सियो कि अझै पनि ब्याट्री पड्किने समस्या ज्यूँ का त्यूँ छ। यस्तो समस्या झेल्नेमा एकजना अन्तर्राष्ट्रिय हवाइ यात्रा गरिरहेका व्यक्ति समेत परे।
 
त्यसपछि विभिन्न हवाइ सेवा कम्पनीहरुले यात्रामा ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाए। नेपालमा समेत नागरिक उड्डयन प्राधिकरणले उडान क्रममा यो फोन अनिवार्य स्विच अफ गरेर झोलामा बोक्न सर्कुलर जारी गरेको छ।
 
रिप्लेस गरिएका फोनमा समस्या बल्झिएपछि कम्पनीले गत सोमबार सबै उपभोक्तालाई अब यो फोन प्रयोग नगर्न सुझाव दिएको थियो। जस कारण सियोलमा कम्पनीको सेयर आठ प्रतिशतले झरेको थियो।
 
अन्नतः कम्पनीले मंगलबार यो फोन 'किल' गरेको घोषणा गर्यो। यसरी कर्पोरेट दुनियाँको एउटा ठूलो महत्वाकांक्षा असामयिक र अप्रत्याशित इतिहास बन्न पुगेको छ। नोट सेभेनलाई प्रिमियम डिभाइसको रुपमा कम्पनीले अमेरिकामा ८५० डलर प्रति गोटाले बेचेको थियो। सुरुमा विश्लेषकहरुले यो फोनलाई स्मुथ र पावरफुल भनेर प्रसंशा गरेका थिए। तर उपभोक्ताको उत्साह कति पनि टिक्न पाएन। एक पछि अर्को गर्दै यो फोन पड्किन थाल्यो।
 
कम्पनीले नोट सेभेनमा ताल्चा लगाएको घोषणा गर्दै उपभोक्ताले तिरेको मूल्य बराबरको अर्को स्मार्टफोन दिने जनाएको छ। यो एक्सचेञ्ज कार्यक्रम बिहीबारबाटै सुरु हुने र सन् २०१६ भर रहने जनाइएको छ।
 
यसबाट प्रष्ट भएको छ कि उपभोक्ताको चाहना बिपरित कम्पनीले केही थोपर्न सक्दैन।
 
नोट सेभेनबाट हात उठाउन कम्पनीलाई निकै महङ्गो परेको छ। एक विश्लेषकका अनुसार कम्पनीले बिक्री रेभेन्यु बापत करिब साढे नौ अर्ब अमेरिकी डलर र पाँच अर्ब डलर बढी नाफा गुमाएको छ।
 
सामसङ, जसको बजार पुँजीकरण १९४ अर्ब डलर र वार्षिक बिक्री १७९ अर्ब डलर रहेको छ, का लागि एउटा उत्पादनको यो घाटा खासै ठूलो होइन। तर, नोट सेभेन प्रकरणको कारण बजारमा आउने विश्वास संकट फिर्ता ल्याउन भने कम्पनीले राम्रै मेहनत गर्नु पर्ने देखिन्छ। (एजेन्सीको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell