PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​आमनाको पीडा : दुई छोरी खोसे अनि निकाले घरबाट



राधेश्याम पटेल

​आमनाको पीडा : दुई छोरी खोसे अनि निकाले घरबाट

वीरगन्ज : वीरगन्जमा एक पतिले आफ्नै पत्नीलाई चरम यातना दिइ घरबाट निकालेको घटना सार्वजनिक भएको छ। बारा, कलैया–१२ रामपुर माइत भइ वीरगन्ज –१७ बहुअरी टोलका हमिद अन्सारीले पत्नी आमना खातुनलाई डेढ वर्षदेखि चरम यातना दिइ एक महिनादेखि घर निकाला गरेका हुन्।

आमना अहिले माइतमा बस्दै आएकी छिन्। २५ वर्षीया पीडिता आमनाले ससुरा घरानाले आफुलाई चरम यातना दिइ कुटपिट गरी घर निकाला गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइन्। पतिले पटकपटक ज्यान मार्ने प्रयास पनि गरेको पत्रकार सम्मेलनमा उनले सुनाइन्।

२०६९ साल कार्तिक २२ गते हमिद अन्सारीसँग इस्लाम रिवाजअनुसार उनको निकाह (विवाह) भएको थियो। आमनाको कोखबाट दुई छोरी पनि जन्मेका छन्। जेठी ३ वर्षीया छोरी आलिया र कान्छी १० महिने छोरी आफियालाई समेत अलग पारेको उनको आरोप छ। छोरीहरुलाई काखबाट खोसेर आफूलाई घर निकाला गरेको उनको दावी छ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा आमनाले रुँदै बेलिविस्तार लगाइन्। उनले भनिन्– ‘मैले नर्कमै जीवन बिताइरहेकी छु। आफ्नै पतिले भान्छा कोठा थुनेर पिटे। मुक्काले धेरै पटक घाइते पनि भएँ। ज्यान मार्ने धम्की दिए। कसरी म बाचुँ ? मलाई न्याय चाहियो हजुर।’

पतिको कुटाइबाट तीन पटक गम्भीर घाइते भइसकेकी उनका दाइ मोहम्द अन्सारी बताउँछन्। बहिनी आमनालाई यस्तै कुटपिट गरेको खबर पाएपछि मामा ऐयाज अन्सारीले एकपटक राति १ बजे साइकलमा बसाएर बहुअरीबाट कलैया पुर्‍याएका थिए।

आमनाको जेठी छोरी आलिया ८ महिनाको गर्भवती भएलगत्तै उनीमाथि हामिदको अत्याचार शुरु भएको थियो। जुन हाल ज्यान मार्ने प्रयाससम्म पुगेको छ। पतिको कुटाइबाट उनको एक पटक आँखा पनि गुम्न सक्ने अवस्था आएको थियो। कुटाइबाट आमना २०७२ पुस १६ मा गण्डक अस्पताल, २०१६ जनवरी १ तारिखमा केडिया आँखा अस्पताल, २०७३ भदौ १ गते नारायणी अस्पताल वीरगन्जमा भर्ना भइ उपचार गराइसकेकी छिन्। न्यायको लागि दुई पटक जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेल र एक पटक घरेलु हिंसा सम्बन्धी पर्सा जिल्ला अदालतमा पनि गुहार लगाइसकेकी आमनाको जीवन अति नै कष्टकर बनेको छ।

यति हुँदा पनि पतिको यातना र अत्याचार रोकिएको छैन। उल्टै छोरीलाई नियन्त्रणमा राखी आफूलाई सडकमा छोडेको हामिदलाई याथासीघ्र नियन्त्रणमा लिइ आवश्यक कारवाही चलाउन स्थानीय प्रहरी प्रशासनसँग माग गरेकी छिन्।

आमनाको परिवारले कलैयाको साढे ३ धुर जग्गा २० लाख मा बेचेर बिहेमा दहेज दिएको थियो। कम दहेज पाएर आमनालाई हमिदले यातना दिन थालेको पीडित परिवारको आरोप छ। पति हामिद निजगढको बजारमा कपडा बेच्ने गर्छन्। जीतपुरमा दुई वटा पसल छ। बाराको बकुलियामा करिब डेढ विघा जग्गा छ।

यस विषयमा पति हमिदसँग सम्पर्क गर्दा उनले सबै आरोप निराधार भएको बताए। ‘म अहिले प्रहरीको महिला सेलमा छु,’ भन्दै उनले थप बोल्न मानेनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell