रत्ननगर (चितवन) : बाली जोगाउन खोज्दा करेन्ट लागेर पश्चिम चितवनका एक जना किसानको ज्यान गएको छ।
पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउँदै आएका छन्।