PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमालेको चियापान : ३५ हजार निम्तोपत्र छापियो, समोसादेखि स्यान्डविचसम्म



सविन ढकाल

एमालेको चियापान : ३५ हजार निम्तोपत्र छापियो, समोसादेखि स्यान्डविचसम्म

काठमाडौं : नेकपा एमाले प्रमुख प्रतिपक्ष हुँदा २०४८ सालमा मनमोहन अधिकारीले सुरु गरेका थिए, चियापान कार्यक्रम। विभिन्न अवसर र पार्टीको सन्दर्भमा हुँदै आएको चियापानलाई एमालेले टुटाएको छैन। सोही परम्परालालाई पार्टीले यस वर्ष पनि निरन्तरता दिने भएको छ। 

अधिकारीले २०४८ सालमा काठमाडौंको नारायणगोपाल चोक नजिकै रहेको आफ्नै निवासअगाडि चियापान कार्यक्रम आयोजना गरेका थिए। यस वर्ष पनि दसैं, तिहार तथा छठ पर्वको अवसरमा एमालेले केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीअगाडी रहेको बसुन्धराको शंखपार्कमा चियापान कार्यक्रम गर्न लागेको हो।

गतवर्ष भने दशरथ रंगशालमा यस्तो कार्यक्रम गरिएको थियो। संविधान जारी भएको खुसीयालीका लागि भन्दै पार्टीले भेटघाट तथा शुभकामना आदानप्रदानसँगै चियापान गरेको हो। 

शनिबार हुने चियापान समारोहका लागि सम्पूर्ण तयारी सकिएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। 'कार्यक्रम स्थलको सरसफाइ, सुरक्षा, सजावट लगाएका कार्यक्रम सकिसकेको छ,' उनले भने, 'हामीले यस पटक ३५ हजार निमन्त्रणा कार्ड छापेर आमन्त्रण गरिसकेका छौं।' 

चियापान समारोहका लागि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय प्रमुख, सरकारी कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु, कलाकार, समाजसेवी लगायतलाई आमन्त्रण गरेको छ। 

चियापानले राजनीतिक दलहरुबीचको असमझदारी हटाउन सहयोग पुर्याेउने नेता श्रेष्ठको भनाइ छ। 'कुनै पनि राजनीतिक दलहरुसँग रिस र द्वेषको भाव नराखी आमन्त्रण गरेका छौं,' उनले भने, 'हामीसँग रुष्ट भएका मधेसी दलका नेताहरुलाई समेत घरमा नै गएर बोलाएका छौं।'

मध्याह्न १२ बजेदेखि सुरु हुने चियापानमा उपस्थिति हुनेको संख्या नै १५ हजारभन्दा बढी रहने एमालेको दाबी छ। गतवर्षको कार्यक्रममा ३० हजारको उपस्थिति थियो। यसवर्ष दसैं मनाउन घर भएका कतिपय नफर्किइसकेको र बिदा परेकोले पोहोरको तुलनामा कमै मानिस आउने अपेक्षा गरेको श्रेष्ठ बताउँछन्।

एमालेले गतवर्षको चियापानमा १७ लाख रुपैयाँ खर्च गरेको थियो। श्रेष्ठका अनुसार यस वर्ष १० देखि १२ लाख रुपैयाँसम्मको खर्च योजना छ। चियापान समारोहमा चिया-कफीका साथै विभिन्न फलफूल, समोसा र विशेषगरी कूटनीतिक निकायका प्रतिनिधिहरुका लागि स्यान्डविच तथा विदेशी परिकार समेत राखिने उनले जानकारी दिए। (फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell