PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर



पहिलोपोस्ट

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौँ : सन् २०१६/२०१७ मा इङल्याण्डमा हुने आइसीसी महिला विश्वकप क्रिकेट खेल्ने नेपाली महिला क्रिकेट टोलीको सपना चकनाचुर भएको छ।

शुक्रबार थाइल्याण्डसँगको महत्वपूर्ण खेलमा पराजय बेहोरेसँगै एसियाबाट विश्व छनौट खेल्ने अवसरबाट नेपाल चुकेको हो।
 
हङकङमा जारी प्रतियोगितामा नेपालले पाँच खेल मध्ये ३ खेलमा हार बेहोरिसकेको छ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा नेपालले चीनसँग खेल्न बाँकी रहेपनि अंकतालिकामा नेपाल पुछारबाट दोश्रोमा छ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले मात्र विश्वकप छनौट खेल्न पाउनेछ।

शीर्ष स्थानमा रहेको थाइल्याण्डको ८ अंक छ। नेपालले चीनसँगको अन्तिम खेलमा जीत हात पारेको अवस्थामा समेत ६ अंक मात्र हुनेछ। यस्तोमा नेपालको सम्भावना अन्तिम खेल अघि नै समाप्त भएको हो।

प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा थाइल्याण्ड र हङकङसँग हार बेहोरेको थियो। तेश्रो खेलमा चीनलाइ पराजित गरेको नेपालले चौथो खेलमा हङकङ माथि बदला लिदैँ जीत निकालेको थियो।

शुक्रबार जीत निकाल्नै पर्ने महत्वपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग १ विकेटले पराजित भयो। पराजयसँगै नेपाली टोली हङकङको हङकङ क्रिकेट क्लबको मैदानबाट निराश हुदैँ बाहिरिएको थियो।

फोटो : ICC - International Cricket Council
 
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो। नेपालका लागि नेरी थापाले सर्वाधिक नटआउट ३२ रन जोडिन्। त्यस्तै इन्दु बर्माले २६, निर्मला शाहीले २०, ज्योती पाण्डेले १३, कप्तान रुविना क्षेत्री बेलबासेले नटआउट १० रन जोडे। त्यस्तै रोसनी बोहोराले २ रन मात्र जोड्न सकिन्।

बलिङतर्फ थाइल्याण्डकी चनिदा सुथिरुङले २ तथा सुलिपोर्न लाओमीले १ विकेट लिइन्।

जवाफि ब्याटिङ गरेको थाइल्याण्डले १८ ओभर ४ बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। थाइल्याण्डकी चनिदा सुथिरुङले नटआउट सर्वाधिक २७ रन जोडिन्। बलिङतर्फ नेपालकी करुणा भण्डारीले ४ विकेट लिइन्। त्यस्तै सीता रानामगरले २ तथा कप्तान रुविना क्षेत्री बेलबासेले २ विकेट लिए। अर्को विकेट भने निर्मला शाहीले लिइन्।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell