PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर गाथा : कनिकाको पे स्केल 'महिनाको ५० हजार'



किशोर नेपाल

कान्तिपुर गाथा : कनिकाको पे स्केल 'महिनाको ५० हजार'

चार्ली कतार उड्ने अघिल्लो दिनमात्र कनिकाले थाहा पाइ - चार्लीले उसको रिपोर्टिङको कामलाई सिरियस्ली लिएको छैन। कफी पिउँदै गर्दा स्पष्टै भन्यो चार्लीले, ‘तिमीले रिपोर्टिङ गर्छ्यौजस्तो मलाइ त लागेन। आर यू रियल्ली सिरियस अन दिस फ्रण्ट? म यता फर्किएपछि पनि तिमी रिपोर्टिङ नै गरिरहन्छ्यौ त? आइ मीन जर्नलिज्म।’
 
चार्लीको कुराले कनिका मनमनै झनक्क रिसाइ। तर, प्रकटमा केही बोलिन। उसको कुरा नबुझेको जस्तो अभिनय गरी। चार्ली भन्दै थियो, ‘तिमी जस्तो जर्नलिज्मको कुनै व्याकग्राउण्ड नभएको, विजनेस स्टडीमा लागेकी केटीले कसरी जर्नलिज्म गर्लिउ? हो, म नफर्किउन्जेलका लागि मन बहलाउन पाएकी छौं। राम्रो हो। हामी पर्मानेन्टली सेटल भइसकेपछि त जर्नलिज्म गर्नु हाम्रो लागि अनुकूल पनि नहोला।’
 
कनिकाको मनमा चसक्क विझ्यो चार्लीका कुरा। विजनेस स्टडीमा लागेकाहरु जर्नलिज्ममा फिट हुँदैनन् भन्ने उपसंहारलाई त उसले खासै महत्व दिइन। दुनियाँका धेरै मानिस जर्नलिज्मभन्दा बेग्लै कोर्स पढेर पत्रकारितामा आएका छन् र लोकप्रिय भएका छन्। चार्ली कफीलाई जति आधुनिक युगको लोकप्रिय ड्रिंक्स भन्छ, त्यत्ति नै लोकप्रिय बनेको छ रिपोर्टिङ। उसको अर्को वाक्य ‘हामी पर्मानेन्टली सेटल भएपछि’ बाट उसले यतिमात्रै बुझी – चार्ली कनिकालाई बच्चा जन्माउने, पुतली जस्तो सजिएर चार्लीसँग सोसल इभेन्ट्समा हिँड्ने र सँधै हाइ र हि मा रमाउने व्यक्तिगत फेशनवेल यन्त्रका रुपमा राख्न चाहन्छ। चार्लीको यो कुरा उसका लागि फिट होला, तर कनिकाको कुरै बेग्लै थियो। उ फेमिनिष्ट थिइन। उसले फेमिनिज्म बुझेकी पनि थिइन। चार्ली जस्तो साथी उसको आवश्यकता थियो। त्यसो भन्दैमा चार्लीका लागि आफ्नो मन परेको पेशा छाड्न उ तयार थिइन। एकछिन अघिसम्म चार्लीसँग उसको तन र मन दुवै मिलेको थियो। एकैछिनमा स्थिति बद्लियो। समयान्तरमा चार्लीसँग कनिकाको मन नमिल्ने देखियो।
 
त्यो साँझ कनिका चार्लीसँग स्वाभाविक रुपमा रमाउन सकिन। उसलाई एक मन त लाग्यो, चार्लीले गिफ्ट दिएको आइफोन सेभेन पनि फिर्ता दिउँ। उसले त्यसो गरिन। धेरैबेर सोची, सम्बन्ध त्यो हदमा पुगेको छैन। त्यस्तो केही भइहालेको पनि थिएन। यो त चार्लीको एउटा टिप्पणी थियो जसले कनिकाको मन तीतो बनाएको थियो। पर्मानेन्ट सेटलमेन्टको त कुरै उठेको थिएन। उसले सोची- त्यो कुरा जहिले पर्छ तहिले पर्छ। अहिले देखि नै त्यसैमा रुमल्लिनु किन परेको छ र?
 
उनीहरुले छिटोछिटो कफी सिध्याए। चार्ली पनि अलिकति बिजी थियो र कनिकालाई रातिको सिफ्ट शुरु नहुँदै वीर अस्पतालको तमाशा हेर्न पुग्नु थियो। कनिका अस्पताल रिपोर्टिङमा लागेको थाह पाएर चार्लीले उसलाई आफ्नो एकजना परिचित ल्याब असिष्टेण्टको नम्बर दिँदै भनेको थियो, ‘यो मेरो पर्सनल फ्रेण्ड हो। तिमीलाई परेको मद्दत गर्न सक्दछ।’
 
कनिका तीन दिनदेखि वीर अस्पतालको चक्कर लगाइरहेकी थिइ। तै पनि, त्यहाँको छेउ–पुच्छर वुझ्न सकेकी थिइन। एकजना डाक्टरसँग कुरा हुँदा उनले भनेका थिए, ‘खोइ अब यहाँको इतिवृत्तान्त तपाई रिपोर्टरहरुले पत्ता लगाउनु भयो भने त कुन्नि। यहाँ काम गरेको पाँच वर्ष भइसक्यो। मैले त अहिलेसम्म केही बुझेको छैन। देशको ठूलो अस्पताल हो। अस्पतालमाथि सामान्य जनताको ठूलो विश्वास छ। तर, त्यही जनतालाई राम्रो सेवा दिन सकेको छैन अस्पतालले।’
 
कनिकाले यो तीन दिनको बीचमा सबै डिपार्टमेण्टको चक्कर लगाएकी थिइ। जनरल वेडमा भर्ती गरिएका कतिपय विरामीको अवस्था कठिन थियो। डाक्टरले लेखिदिने अधिकांश औषधि अस्पतालमा निःशुल्क उपलव्ध थिएन। सामान्य विरामीका लागि यो साह्रै पीडादायक अवस्था थियो। एकजना रोगीले कनिकालाई बताएका थिए, ‘औषधि किन्ने सागवास भएको भए यहाँ किन आउनु पर्थ्यो र? यत्रो नाम चलेको ठूलो अस्पतालमा भर्ती भएको छु। सात दिन जति त औषधि दिए। अहिले धर्मशालामा सुते जत्तिकै छ। लौ मैसाव, हाम्रो आवाज उठाइ दिनुपर्‍यो।’
 
उसले यो पनि थाह पाइ - कतिले अस्पताललाई होस्टल बनाएका छन्। उनीहरुलाई जाँच्न डाक्टरहरु सधैँ राउण्डमा आउँछन्। भर्ना भएका कति विरामी छ सात महिनादेखि बेडमा नै छन – अस्पतालका रजिष्टर्ड पेसेन्ट। ती बिहानको खानापछि अस्पतालबाट बाहिर निस्किन्छन् र बेलुकी राउण्ड अगाडि आएर अस्पतालको बेडमा पल्टिन्छन्।
 
चार्लीको साथी ल्याब असिष्टेण्टलाई भेटेर कुरा गरेपछि त कनिकालाई चक्करै लाग्यो। रामप्रसादको रिपोर्ट दिलकुमारीको नाममा र हर्षरत्नको रिपोर्ट द्रव्यरत्नको नाममा रुपान्तरित भएका केस त कति छन कति। ल्याब असिष्टेण्टले उसलाई सुनायो, ‘हामीसँग आधारभूतदेखि ठूला विशेषज्ञ सेवाहरु समेत उपलव्ध छन्। नाम चलेको ठूला डाक्टरको पनि कुनै कमी छैन। कमी एउटै छ। त्यो भनेको हामीकहाँ व्यवस्थापन छैन। घीनलाग्दो राजनीतिक र सरकारी हस्तक्षेप छ।’
 
कनिकाले त्यो दिन आफ्नो अस्पताल रिपोर्टको पहिलो भाग पोष्ट गरी। केही बेरमा नै त्यो पोष्ट भाइरल भइहाल्यो। त्यसको भोलिपल्ट दिनभरि नै सुदिप्तीको फोनको घण्टी बजिरह्यो। कनिकाको रिपोर्टले स्वास्थ्यका केही अधिकारी रन्थनिएका थिए। सरकारका मन्त्री र अधिकारीहरु अस्पताल निरीक्षणमा गए। सरकारले जाँच आयोग त गठन गरेन। सेवामा ‘देखिने’ खालको सुधार ल्याउन समितिको गठन गर्‍यो।
सुदिप्ती खुशी थिइ। उ खुशी हुनु भनेको ‘क्याप्टेन मोर्ग्यान’ र कफीको ककटेल्स विथ ‘रिच स्यान्स्क’ हुन्थ्यो। सुदिप्ती र उ रोड हाउस छिरे। संयोग, उनीहरुले स्मोकिङ जोनमा ठाउँ पाए। खासमा, त्यो स्मोकिङ जोन–सोन केही थिएन। कान्तिपुरमा ‘प्रहरी मेरो साथी’ हुनुभन्दा अघिदेखि सरकारले बार र रेष्टुराँलाई नन–स्मोकिङ पव्लिक प्लेसमा राखेको थियो। विकल्पमा रेष्टुराँहरुले स्मोकर्सलाई रिझाउन बरण्डा र यस्तै खुला भाग स्मोकर्सका लागि छुट्याइदिएका थिए।
 
त्यो दिन मस्तै पिए दुई कोरलीले। खुशीको मूडमा सुदिप्तीले कनिकाको पे तोकि दिइ - फिफ्टी थाउज्याण्ड रुपी अ मन्थ। ‘ओहो यत्रो पैसा’, कनिका दंग परी। उसले दुई महिनादेखि गरेकी नि:शुल्क रिपोर्टिङको फेज सकियो। झण्डै डेढ घण्टापछि मनहर आइपुग्यो। सप्तरीको तन्नेरी मनहर यादव एमबीए सकेर कामको खोजीमा कान्तिपुर आएको थियो। काम त उसले तुरुन्तै पायो एउटा इन्स्योरेन्स कम्पनीमा। कामसँगै प्रेमको झिल्को पनि पायो। एउटा पार्टीमा उसको आँखा जुध्यो सुदिप्तीसँग। कनिकालाई सुदिप्ती रिलेशनशीपमा छे भन्ने त थाह थियो। यसबाहेकका अन्य समाचार उसका लागि पनि नयाँ थिए।
 
मनहरलाई देख्नेबित्तिकै सुदिप्ती मस्किन थाली। उसले कनिकासँग छुट्टी मागी। जवाफमा कनिका हाँसी मात्र। सुदिप्तीले हतारहतार म्यानेजरलाई बोलाइ र बिल अफिसमा पठाउन इन्स्ट्रक्ट गरी। त्यसपछि उ मनहरसँग लठारिन पुगी।
 
कनिकाको एउटा मन चार्लीलाई रोडहाउसमा बोलाउन चाहन्थ्यो। अर्को मन हर्ट थियो। कनिका व्दिविधामा थिई। उसले सिगरेटको लामो सर्को तानी र आकाशमा मँडारिएका वादलहरुको नृत्यमा मग्न भइ...

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell