PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

इलामको माइखोलामा डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ३४ को उद्धार



पहिलोपोस्ट

काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालक, दुई पुरुष र दुई महिला छन्। उनीहरुको सनाखत हुन सकेको छैन।

दसैंको टीका लगाउन जाने-आउने तथा स्थानीय शुक्रबारे बजार भरेर फर्केका यात्रु चढेको डुंगा दुर्घटना भएको पत्रकार राजेश पराजुलीले जानकारी दिए। डुंगामा करिब १२ जना बालबालिका समेत रहेको बताइएको छ।

दानाबारीबाट महमाई जाँदै गर्दा चण्डालघाट भन्ने ठाउँमा सो दुर्घटना भएको हो। खोलाबीचमा पुगेपछि सन्तुलन गुमेपछि पल्टिएको पौडिएर बाँचेका दानाबारीका हेमबहादुर सिँजालीले बताएका छन्। यात्रुको अत्यधिक चापका कारण डुंगा पल्टिएको प्रहरीको भनाइ छ।

हालसम्म ३४ जनाको उद्धार भएको प्रहरी चौकी लोदियाका सई प्रसादकुमार कार्कीले बताए। प्रहरी चौकी लोदिया, प्रहरी चौकी महमाई, सशस्त्र प्रहरी क्याम्प दानाबारी र स्थानीयको सक्रियतामा हराइरहेको अन्य यात्रुको खोजी भइरहेको छ। 'चेप्टी दोभानदेखि झापाको दोमुखासम्मको भौगोलिक अवस्थाका कारण खोजी गर्न सक्ने अवस्था देखिन्न। एकदमै गाह्रो ठाउँ छ,' स्थानीय पत्रकार चन्द्र तामाङले भने। 

हराएका यात्रुको खोजीको लागि नेपाली सेनाको एक टोली पनि झापाको माईधारको दोमुखामा परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell