
ढाका : चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि शुक्रबार बङलादेशको राजधानी ढाका आइपुगेका छन्। दक्षिण एसियाली यो देशमा चीनका राष्ट्रप्रमुखको भ्रमण ३० बर्षपछि भएको हो।
भ्रमणका क्रममा उनले बङ्गलादेशका राष्ट्रपति अब्दुल्ला हमिद, राष्ट्रिय सभाका सभामुख शिरिन शरमिन चौधरी र प्रधानमन्त्री शेख हसिनासँग भेटर्वार्ता गर्ने छन्।
अत्याधिक जनसङ्ख्या भएका चीन र बङ्लादेशकाबीचमा सन् १९७५ देखि कुटनैतिक सम्बन्ध रहेको छ। सिले यसअघि सन् २०१० मा चीनको उपराष्ट्रपति हुदा बङ्लादेशको भ्रमण गरेका थिए।
चीन बङ्लादेशको सबैभन्दा ठुलो व्यापारिक साझेदार देश हो भने दक्षिण एसियामा बङ्गलादेश चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो।
सिको बङ्गलादेश भ्रमण दुई देशको सम्वन्ध विकास र साझेदारी बृद्धिका लागि कोशेढुङ्गा सावित हुने बङ्लादेशका नेताहरुले विश्वास लिएका छन्।
सिसँग हमिदले यसअघि सन् २०१४ मा चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका थिए।
भारतको गोवामा आयोजना हुनलागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन जानेक्रममा राष्ट्रपति सि शुक्रबार बङ्गलादेश आइपुगेका हुन्।
चीनबाट बिहीबार हिँडेका सिले बिहीबार कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए। अन्य दक्षिण एसियाली मुलुकको भ्रमण गर्ने सूची भए पनि उनको नेपाल भ्रमणको कार्यसूची छैन। रासस/सिन्ह्वा