PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

अपडेट : माइखोला डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, बेपत्ताहरुको खोजी जारी



पहिलोपोस्ट

अपडेट : माइखोला डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, बेपत्ताहरुको खोजी जारी

काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

थप एक महिला एक पुरुषसँगै बालिकाको शव आज बिहान झापाको शिवगञ्ज र शरणामतीमा फेला परेको हो। फेला परेका पुरुषमा झापा शनिअर्जुन नगरपालिकाका कृष्णकुमार घतानी र बालिका मोरङको मधुमल्लाकी अञ्जली खड्का रहेकी छन्। महिलाको भने सनाखत भएको छैन। अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी सुशीलकुमार यादवले पहिलोपोस्टलाई जानकारी दिए।

शुक्रबार दिउँसो दानाबारीबाट महमाई जाँदै गर्दा लोदिया दोभनमा डुंगा दुर्घटना भएको थियो। बेलुकासम्ममा ५ जनाको शव फेला परेको थियो। हिजो पहिचान खुलेका मृतकहरुमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल र मधुमल्लाकी ६ वर्षीया पुष्पा खड्का छन्। कालो प्यान्ट लगाएका मंगोलियन वर्णका पुरुषको भने पहिचान नखुलेको यादवले बताए।

हिजै ३४ जनाको उद्धार गरिएको थियो। दसैंको टीका लगाउन जाने-आउने तथा स्थानीय शुक्रबारे बजार भरेर फर्केका यात्रु चढेको डुंगा दुर्घटना भएको हो। डुंगामा करिब ५० जना यात्रु थिए। हराएका अरुको खोजीका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीयवासी जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell