PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सुरु भयो एमालेको चियापान, महन्थ ठाकुरलाई गरे ओलीले स्वागत

सुरु भयो एमालेको चियापान, महन्थ ठाकुरलाई गरे ओलीले स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेले दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ। करिब १२ हजारको उपस्थिति रहने दाबी गरेको एमालेको चियापानमा नेता कार्यकर्ताका साथै अन्य दलका प्रतिनिधि पनि सहभागी छन्।
 
आजको कार्यक्रमका लागि एमालेले ३५ हजार निमन्त्रणा कार्ड छापेको थियो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय प्रमुख, सरकारी कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु, कलाकार, समाजसेवी लगायतलाई उसले आमन्त्रण गरेको थियो।
 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि कार्यक्रममा पुगेका छन्। उनलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरे। संविधान संशोधनका विषयमा एमाले र मेधसी मोर्चाबीच असन्तुष्टि बढिरहेको अवस्थामा ठाकुर चियापानमा सहभागी हुन पुगेका छन्। यसलाई एमाले नेताहरुले सकारात्मक संकेतका रुपमा लिएका छन्।
 
कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, एकीकृत माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि सहभागी छन्। सभामुख ओनसरी घर्ती पनि कार्यक्रममा पुगेकी छन्।
 
नेकपा एमाले प्रमुख प्रतिपक्ष हुँदा २०४८ सालमा मनमोहन अधिकारीले सुरु गरेको  चियापान कार्यक्रमलाई पार्टीले विभिन्न अवसर र सन्दर्भमा निरन्तरता दिँदै आएको छ। अधिकारीले नारायणगोपाल चोक नजिकै रहेको आफ्नै निवासअगाडि चियापान कार्यक्रम आयोजना गरेका थिए। यस वर्ष पनि दसैं, तिहार तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। एमालेले केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीअगाडी रहेको बसुन्धराको शंखपार्कमा कार्यक्रम गरिरहेको हो।


ट्रेन्डिङ पोस्ट

Ncell