
वालिङ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि कांग्रेस गम्भीर रहेको बताएका छन्।
कांग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उनले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताए।
नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि कांग्रेसले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। 'संविधानको कार्यान्वयनमा देखिएका जटिलतालाई आन्दोलन भन्दा पनि वार्ताबाट निकास दिनु अहिलेको आवश्यकता हो,' नेता सिंहले भने।
संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका अन्य दललाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिदै उनले कांग्रेसले सरकार परिवर्तनलाई भन्दा पनि जनताका चाहना र आवश्यकता बुझ्नतर्फ लाग्नुपर्ने भनाइ राखे।
पार्टीका महाधिवेशनका समयमा जे–जस्तो भए पनि अब भने सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी सुदृढिकरणतर्फ लाग्नुपर्नेमा उनको जोड थियो। पार्टीभित्र नमिलेका केही विषयलाई कात्तिक ४ गते बस्ने पार्टीको केन्द्रीय बैठकमा आफूले उठाउने प्रतिवद्धता पनि नेता सिंहले व्यक्त गरेका छन्। रासस