
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेटवार्ता भएको छ।
ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेटवार्ता भएको हो।
भेटवार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराउनु भएको थियो। ‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्रीले भने, ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं। हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें।'
भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण भएको बताएका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए । प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको उल्लेख गरे ।
चिनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए । पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको उल्लेख गरे।
पिङले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे। भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति पिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको उल्लेख गरे।
मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले भेटपछि जारी गरेको प्रेस नोटमा उल्लेख छ।