
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलहरुमा ठुला टीमहरुले जित हात पारेका छन्। शीर्ष चारमा रहेका एथ्लेटिको मड्रिड, रियल मड्रिड, सेभिया र बार्सिलोनाले जित हात पार्दै तीन अंक जोडेका हुन्।
यानिक कारास्कोको ह्याट्रिक सहयोगमा एथ्लेटिकोले ग्रानाडालाई ७-१ को फराकिलो अन्तरले हराउँदा तीन सातापछि मैदान फर्केको पहिलो खेलमै लियोनल मेसीले बार्सिलोनाको लागि गोल गरेका छन्।
आइज्याक कुयन्साको गोलमार्फत ग्रानाडाले १८ औं मिनेटमै अग्रता लिएपनि उसले अग्रता कायम राख्न सकेन, यता एथ्लेटिकोले उत्कृष्ट पुनरागमन गर्यो। कारास्कोले लगातार ३ गोल गर्दै एथ्लेटिकोलाई ३-१ को स्थितीमा पुर्याए। त्यसपछि निकोलस गाइटनले २ तथा एन्जेल कोरेअ र थियागोले १/१ गोल गरेपछि एथ्लेटिको ७-१ ले विजयी भयो।
जितसँगै ८ खेलबाट १८ अंक जोडेको एथ्लेटिको शीर्ष स्थानमा कायमै छ। अर्को खेलमा रियल मड्रिडले रियल बेटिसलाई उसैको मैदानमा ६-१ ले पराजित गर्यो।
रियलको जितमा इस्कोले २ गोल गरे भने राफेल भरान, करिम बेन्जामा, मार्सेलो र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गरे। बेटिसका लागि अल्भारो सेजुडोले सान्त्वना गोल फर्काए। जितपछि ८ खेलबाट एथ्लेटिको समान १८ अंक जोडेको रियल गो अन्तरमा दोस्रो स्थानमा छ।
यस्तै प्रतिस्पर्धात्मक खेलमा लेगानेसलाई ३-२ ले हराउँदै सेभियाले पनि तेस्रो स्थानमा कायमै रहेको छ। सेभियालाई ३ अंक दिलाउन फ्रान्को भजक्वेज, समिर नास्री र पाब्लो सराबियाले १/१ गोल गरे। घरेलु टोली लेगानेसका लागी डेविड टिमोर अलेक्जान्डरले गोल गरे पनि तिाउन सकेनन्।
यता चोटबाट मुक्त हुँदै लियोनल मेसी मैदान फर्केको पहिलो खेलमै बार्सिलोनाले पनि शानदार जित निकाल्यो। बार्सिलोनाले डेपोर्टिभो ला कुरानालाई ४-० ले पराजित गरेको हो।
दोस्रो हाफमा मैदान छिरेका मेसीले १ गोल समेत गरे। यसअघि रफिन्हा ले २ तथा लुइस स्वारेजले १ गोल गर्दै बार्सिलोनालाई ३ गोलको अग्रता दिलाएका थिए। खेलको ६५ औं मिनेटमा लाउरेले सिधै रातो कार्डको पाएपछि डेपोर्टिभा १० खेलाडीमा झरेको थियो।
जितपछि बार्सिलोनाको ८ खेलबाट १६ अंक भएको छ र चौथो स्थानमा कायम छ।