
टोटनहम हट्सपरले इंगलिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिँदा शीर्ष स्थानको म्यानचेष्टर सिटी एभरटनसँग बराबरीमा रोकिएको छ।
१० खेलाडीमा रहेर खेलको अन्त्य गरेको आर्सनलले प्रतिस्पर्धात्मक खेलमा स्वान्सी सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लन सफल हुँदा चेल्सीले पनि साविक विजेता लेस्टर सिटीलाई हरायो।
यस सिजन अपराजित रहने एक्लो टीम बनेको टोटनहमले वेस्ट ब्रोमिज अल्विओनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। १-० ले पछि परेको स्थितीमा खेल सकिन एक मिनेट अगाडी डेले अलीले गोल गर्दै टोटनहमलाई हारबाट जोगाएका थिए। यसअघि टोटनहमका पूर्व खेलाडी नासेर चाड्लीले ८२ औं मिनेटमा गोल गर्दै घरेलु टोली अल्विओनलाई अग्रता दिलाएकमा थिए।
बराबरीमा रोकिएपछि टोटनहमले शीर्ष स्थानमान उक्लने मौका भने गुमाएको छ। ८ खेलबाट १८ अंक जोडेको टोटनहम तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी पनि एभरटनसँग १-१ गोलको बराबरीमै रोकियो।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा केभिन डे बु्रएना र सर्जियो अगुएरोले पेनाल्टी मिस गरेपनि नोलिटोले सिटीका लागि बराबरी गोल फर्काए। त्यसअघि रोमेलु लुकाकुले गोल गदै भ्रमणकारी टोली एभरटनलाई अग्रत दिलाएका थिए। बराबरीका बाबजुत पनि ८ खेलबाट १९ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ।
प्रतिस्पर्धात्मक खेलमा स्वान्सी सिटीलाई ३-२ ले हराउँदै १९ अंक नै जोडेको आर्सनल गोल अन्तरमा दोस्रो स्थानमा छ।
आर्सनलको जितमा थियो वाल्कोटले २ गोल गरे भने मेसुट ओजिलले १ गोल गरे। स्वान्सीका लागि गिल्फी सिगुरसन र बोरा बास्टोनले १/१ गोल गरे । ७० औं मिनेटमा ग्रान्ट जाकाले सिधै रातो कार्डको सामना गरेपछि आर्सनल अन्तिम २० मिनेट दश खेलाडीकमा झरेको थियो।
यता साविक विजेता लेस्टर सिटीलाई ३-० ले हराउँदै चेल्सी पाँचौ स्थानमा उक्लेको छ। चेल्सीको जितमा डिएगो कोस्टा, एडेन हाजार्ड र भिक्टोर मोसेसले १/१ गोल गरे। जितपछि चेल्सीको ८ खेलबाट १६ अंक भएको छ। एक खेल कम खेल्दै समान १६ अंक जोडेको लिभरपुल गोल अन्तरमा चौथो स्थानमा रहेको छ।
लिभरपुलले रेड डर्बी भिडन्तमा भोली राती म्यानचेष्टर युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ। ७ खेलबाट १३ अंक जोडेको युनाइटेड सातौँ स्थानमा छ।
प्रिमियर लिगकै अन्य खेलमा एएफसी बर्नमाउथले हल सिटीलाई ६-१ को फलराकिलो अन्तरले हरायो भने स्टोक सिटीले सण्डरल्याण्डलाई २-० तथा वेष्टहम युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० ले हरायो।