
काठमाडौं : आगामी नोभेम्वर २ बाट मलेसियामा हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले पनि सहभागिता नजनाउने भएको छ।
समूह ए मा रहेको बंगलादेशले नखेल्ने भएपछि नेपाल रहेको यस समूहमा ३ टीम मात्र हुनेछ। यसअघि नै पाकिस्तानले पनि प्रतियोगिता नखेल्ने बताएको थियो। दुवै टीमले भाग नलिने भएपछि समूह ए मा नेपालसँगै टिमोर लेस्टे र ब्रुनाई दारुसेलम रहेको छ।
नेपालले समूहको पहिलो खेलमा नोभेम्वर ५ मा टिमोर लेस्टेसँग खेल्नेछ। यस्तै नोभेम्वर ८ मा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।
कुल ७ टीमको सहभागिता रहने प्रतियोगिताको समूह बी मा ४ टोली छन्। जसमा श्रीलंका, मंगोलिया, लाओस र मकाउ रहेका छन्।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टीम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच नोभेम्वर १५ मा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
फिफाको पछिल्लो वरियतामा रहेका र लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने टीमहरुका लागि एएफसीले नयाँ प्रतियोगिताको रुपमा सोलिडारिटी कपको आयोजना गर्न लागेको हो।