PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच गोवामा के भयो छलफल?



रासस

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच गोवामा के भयो छलफल?

  • कृष्ण अधिकारी 
गोवा (भारत) : प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार अबेर भेटवार्ता भएको छ। ब्रिक्स-बिमिस्टेक सम्मेलनमा सहभागि हुन गोवा पुगेका दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच साइडलाइन वार्ता भएको हो। होटलमा लिलामा भएको भेटमा आपसी हितका विषयमा छलफल भएको थियो।  

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा वार्ता अबेर सुरु भएको थियो। भेटमा यसअघि दाहालको राजकीय भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। 

द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो। 

प्रधानमन्त्री दाहालले ‘एन्टी डम्पिङ डयूटी’का समस्यालाई हल गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री डा महतले उल्लेख गरे। त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि वार्तामा उल्लेख गरेका थिए।

प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने विश्वास व्यक्त गरे। भारतीय राष्ट्रपतिले गर्न लागेको नेपाल भ्रमणबारे पनि गोवामा छलफल भएको छ। 

भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी थिए। 

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकर, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारी सहभागि थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell