PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

बन्दीपुरमा ओइरिए पर्यटक, सन् २०१६ भरका लागि सबै कोठा बुक



पहिलोपोस्ट

बन्दीपुरमा ओइरिए पर्यटक, सन् २०१६ भरका लागि सबै कोठा बुक

  • सरिता पौडेल
बन्दीपुर : पर्यटकीय गन्तव्यको रुपमा परिचय बढाउँदै लगेको तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरु ओइरिन थालेका छन्। सन् २०१६ भरका लागि बन्दीपुरका होटलका कुनै पनि कोठा खाली छैनन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले दिएको यो जानकारीले नै जनाउँछ- बन्दीपुर एउटा आकर्षक गन्तव्य बनिसक्यो।
 
'बन्दीपुरमा यो वर्ष नसोचेको पर्यटक आएका छन्। सन् २०१६ सम्मका लागि अधिकांश होटलको बुकिङ भइसकेको छ,' अध्यक्ष गुरुङले भने, 'एकाध होटलका कोठा खाली होलान् नत्र कोठा पाउनै मुस्किल छ।'
 
भूकम्प र नाकाबन्दीका कारण गत वर्ष बन्दीपुरमा पर्यटक आगमन ठप्पजस्तै थियो। यहाँ बैसाखदेखि भदौसम्म पर्यटक कम आउँछन्। साना र ठूलागरी ५७ होटल रेस्टुरेन्ट रहेको बन्दीपुरमा एक दिनमा १४ सयसम्म पर्यटक राख्न सकिन्छ।
 
यी होटलमा १५ लाखदेखि ५ करोडसम्मको लगानी छ। पर्यटक आगमन बढ्न थालेपछि यहाँ नयाँ होटल थपिने क्रम बढेको छ। अध्यक्ष गुरुङका अनुसार बन्दीपुरमा ५ नयाँ होटल निर्माणाधीन अवस्थामा छन्‍। यी होटलमा ३ देखि ५ करोड लगानी हुनेछ। टुँडिखेलमा ५ करोड लगानीमा नयाँ होटल निर्माण गर्न लागिएको काठमाडौंका विकास श्रेष्ठले बताए। ग्रीनपार्क, फेवा, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, वोल्डइन, गाउँघर, मगर भिलेज बन्दीपुरका चर्चित होटल हुन्। यो क्षेत्रमा २२ वटा होमस्टे सञ्चालनमा छन्।
 
बन्दीपुरमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङ, गणेश मनास्लु, लाङटाङ लगायतका हिमाल लहरै देख्न पाइन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएका घर, खड्कमाई, थानीमाई, विन्ध्यवासिनी, महालक्ष्मी मन्दीर, टुँडिखेल, तीनधारा, रानीवन, रामकोट, सुनखरी, सिद्धगुफा, गढी यहाँका प्रमुख आकर्षण केन्द्र हुन्। यस्तै हिलेखर्क धरमपानी होमस्टे र छिम्केश्वरीले पनि पर्यटकलाई लोभ्याउँछ। बन्दीपुरको बजार क्षेत्रमा भने सवारी साधन निषेध छ।
 
बन्दीपुरमा ढुंगा छापेको आँगनमा बसेर खाना खान पाइन्छ। निकै पुराना घरमा ढुंगा छापेकाले पनि विदेशीहरुलाई यसले झन् लोभ्याउँछ।

पर्यटन विकास समितिका अध्यक्ष गुरुङ भन्छन्, 'यो वर्ष दसैं बिदामा घुम्नका लागि पनि धेरै पर्यटक भित्रिए। जाडो याम सुरु हुने बेला बन्दीपुरमा पर्यटकको चाप बढी हुन्छ।'
 
तिहारसम्म यो क्रम जारी रहने बुकिङले देखाएको छ। उनका अनुसार सन् २०१७ का लागि समेत बुकिङ सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell