PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

ला लिगा : सेल्टाको पोस्टमा भियारियालको ५ गोल, भ्यालेन्सिया र विल्वाओ पनि विजयी



पहिलोपोस्ट

ला लिगा : सेल्टाको पोस्टमा भियारियालको ५ गोल, भ्यालेन्सिया र विल्वाओ पनि विजयी

स्पानिस ला लिगा अन्तर्गत गएरातिका खेलमा भियारियाल, भ्यालेन्सिया र एथ्लेटिको विलवाओ विजयी भएका छन्। 

घरेलु मैदानमा भएको खेलमा भियारियालले सेल्टाभिगोलाई ५-० ले हरायो। भियारियालको सहज जितमा रोवर्टो सोरियानोले २ गोल गरे भने सेडरिक बाकम्बु र मानुएल ट्रिगुएरोसले १/१ गोल गरे। सेल्टाका डानिएल वासले १ आत्मघाती गोल उपहार दिए। अपराजित रहेको भियारियालको यस सिजन यो चौथो जित हो। भियारियालले ४ खेल बराबरी खेलेको थियो।

जितपछि ८ खेलबाट १६ अंक जोडेको भियारियाल पाँचौ स्थानमा छ। बार्सिलोना समान अंक भए पनि गोल अन्तरमा भियारियाल पछि परेको हो।

यस्तै प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिको विल्वाओले रियल सोसिडाडलाई ३-२ ले पराजित गरेको छ। १ गोलले पछि परेको स्थिति उल्टाउँदै विल्वाओले सिजनको पाँचौ जित निकालेको हो।

डेविड जुरुटुजाले गोल गर्दै सोसिडाडलाई पहिले अग्रता दिलाए पनि विल्वाओले लगातार ३ गोल गर्दै पुनरागमन गरेको हो। विल्वाओका लागि इकर मुनिएन, अरिट्ज अडुरिट्ज र इनाकी विलियम्सले १/१ गोल गरे। 

३-१ ले पछि परेको अवस्थानमा इनिगो मार्टिनेजले सोसिडाडका लागि गोल थपे पनि जितका लागि पर्याप्त हुन सकेन। पाँचौ जितसँगै १५ अंक जोडेको विल्वाओ छैटौ स्थानमा उक्लेको छ।

यता मारियो स्वारेजले २ गोल गरेपछि भ्यालेन्सियाले स्पोर्टिङ गिहोनलाई २-१ ले पराजित गर्दै सिजनको तेस्रो जित हात पारेको छ। खेलमा भ्यालेन्सियालाई अग्रत दिलाएका मारियोले टिमका लागि विजयी गोल समेत गरे। त्यसअघि स्पोर्टिङ गिहोनका कार्लोस कास्ट्रोले गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell