PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सेनामा खुल्यो दुई हजारभन्दा बढीको जागिर, संस्कृत पढेकादेखि कम्प्युटर तालिम लिनेसम्मलाई अवसर



पहिलोपोस्ट

सेनामा खुल्यो दुई हजारभन्दा बढीको जागिर, संस्कृत पढेकादेखि कम्प्युटर तालिम लिनेसम्मलाई अवसर

काठमाडौँ : नेपाली सेनाले विभिन्न पदमा २ हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदारदेखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो।

जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै ४ सय जना जवान मागिएको छ। तालिमपश्चात् उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम गर्नेछन्। उपत्यकाबाहिर पूर्वी पृतना हेर्डक्वार्टर इटहरीका लागि १ सय ६० जनाका लागि दरखास्त मागेको छ। सोही पदमा भैरबीदल पाँचथर, ज्वालादल गण जाजरकोट र शेर गण खोटाङमा ६०/६० जनाको जागिर खुलेको छ। ज्वालादल र शेर गणमा लोहार समेत क्रमशः ३ जना, २ जना माग गरिएको छ।
 
कृष्णदल गण राजविराज, ९ नम्बर बाहिनी अड्डा सिन्धुली, ईन्द्रबक्स गण रौतहट र सुदूर पश्चिम पृतना दिपायलमा मा ७५/७५ जना सैन्यका लागि दरखास्त आह्वान गरिएको छ। सेनाले मध्य पृतना मकवानपुर, २२ नम्बर वाहिनी बुटवल, पशुपतीप्रसाद गण लमजुङ, ४ नम्बर बाहिनी नेपालगञ्ज, रिपुमर्दिनी गण घोराही र शिवदल गण धनगढीमा १००/१०० जना सैन्य माग गरेको छ। 
 
पश्चिम पृतना हेड क्वार्टर पोखरामा १५० जना एवं भगवती दल गण जुम्ला र संग्रामसार्दुल गुल्म बझाङमा ५०/५० जना सैन्यको लागि सेनाले दरखास्त आह्वान गरेको छ। भगवतीदलमा २ जना चर्मकर्मी र सग्रामसार्दुलमा २ जना लोहार समेत माग गरिएको छ। सेनाका अनुसार जहाँका लागि दरबन्दी खुला गरेको हो इच्छुकले त्यहिँ निवेदन दिनुपर्नेछ।
 
जंगी अड्काका लागि ५ जना लेखा जम्दार एवं ६ जना सहायक पण्डित (हुद्दा) समेत सेनाले माग गरेको छ। जंगी अड्डामा ११ जना अमल्दार, ५० जना सैन्य ड्राइभर, ४७ जना बन्दोबस्ती कार्य सिपाही, २२ जना कूचिकार, १ जना धोवी, ५ जना केशकर्तक र ९ जना वेटर पनि माग गरिएको छ। 

सेनाले सबै भन्दा धेरै माग गरेको सैन्य पदमा भिड्न शैक्षिक योग्यता ८ कक्षा पास भए पुग्नेछ।  
 
सहायक पण्डितका लागि भने कम्तिमा २०० पुर्णाङ्को संस्कृति विषय लिई १० कक्षा पास गरेको एवं कर्मकाण्ड गराउन सक्ने हुनुपर्नेछ। लेखा जम्दारका लागि भने सेनाले एसएलसी पास गरी कम्तिमा ३ महिनाको आधारभूत कम्युटर तालिम लिएको व्यक्ति खोजेको छ। 
 
ड्राइभरमा भने कम्तिमा कक्षा ८ पास गरेको र लाइट/हेभी सवारीको लाइसेन्स लिएको हुनुपर्ने जनाइएको छ। अरु सबै पदका लागि साधारण लेखपढ गर्न जानेको भए पुग्नेछ। सबै पदमा भिड्न १८ वर्ष पूरा भएको हुनुपर्नेछ। साथै सैन्य र ड्राइभरका लागि २२ बर्ष ननाघेको हुनु पर्नेछ। लेखा जमदार, सहायक पण्डित र अमल्दारको हकमा भने २५ बर्षको उमेर सिमा राखिएको छ। अरु सबै साना (फलोअर्स) पदमा भने २६ बर्ष ननाघेको हुनुपर्नेछ।

सबै तहका कर्मचारीले शारीरिक परीक्षा पनि दिनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell