PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दसैंभरमा पुलको कमाइ नै साढे १० लाख



पहिलोपोस्ट

दसैंभरमा पुलको कमाइ नै साढे १० लाख

फलेवास (पर्वत) : मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यस वर्षको दसैँमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ।
 
केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैंको प्रतिपदादेखि पूर्णिमासम्म रु ८ लाख ४१ हजारको कारोबार गरेको हो।
 
कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैंको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो। यसपटक दसैंमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन्।
 
गत वर्ष यात्रुबाट रु १० लाख ८३ हजार आम्दानी भएको थियो। यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए।
 
पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ। यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोट्टिएको छ। केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ।
 
सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए।
 
'गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ,' उनले भने, 'हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवर्द्धन गर्नुपर्छ।'
 
पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell