PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

यसरी अदालतलाई रोक्न खोजे लोकमानले



मनोज सत्याल

काठमाडौं : लोकमानसिंह कार्कीको घर बानेश्वरको १० नंम्बर वडामा छ। उनी अहिले उक्त घरमा बस्दैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा भएको नियक्तिको मुद्दा पुनरावलोकन गर्ने आदेश गरिसकेपछि पटकपटक म्याद बुझाउन सर्वोच्चको टोली उनको घरमा पुगिसकेको छ।

तर, अदालत भने म्याद बुझाउन असफल हुँदै फर्किने गरेको छ। लोकमानसिंह कार्कीको घरमा यसअघि मुद्दा तामेल गराउने जिम्मेवारी पाएका तामेलदार परिवर्तन भइसकेका छन्।

सोमबार एकपटक फेरि सर्वोच्चले मुद्दा तामेलीको प्रयास गर्‍यो। तामेलीका लागि पुगेको टोलीलाई लोकमानका ज्वाँइसहित र छिमेकीले अवरोध गरे। त्यसो त वडा कार्यालयको रोहबरमा उनको घरमा तामेलीको सूचना टाँस्नुपर्ने हुन्छ। तर, वडा कार्यालयको असहयोग र स्थानीयको अवरोधले न्यायालयको प्रक्रिया पुन: रोकिएको छ।

लोकमानको घरमा सूचना टाँस गरेर मुद्दा तामेल गराउन स्थानीयको अवरोधपछि सर्वोच्चका एक तामेलदार र सुब्बा वडा कार्यालय पुगे। तर, तिनै स्थानीयले त्यहाँ पनि अवरोधको प्रयास गरे।

एक बुज्रुकले आफूलाई वडा नागरिक मञ्चको अध्यक्ष बताए। अनि भने – ‘म वडा नागरिक मञ्चको अध्यक्ष हुँ। घर बहालमा छ, त्यहाँ टाँस्न मिल्दैन। सामसुङ कम्पनी बसेको छ। कम्पनीले कसरी जानकारी दिन्छ।'

उनले खुलेआम त्यहाँ सूचना टाँस्न नदिने उद्‍घोष गरे। अनि थपे – ‘उनी टंगालको सरकारी निवासमा बस्छन्। त्यहीँ टाँसे भइहाल्यो नि!'

लोकमानको घरमा मुद्दाको सूचना टाँस्न नहुने तर्क गर्ने एक दर्जन मानिस वडा कार्यालय पुगेका थिए। जसमा एक थिए लोकमानसिंह कार्कीका ज्वाँइ प्रवल थापा।

उनीहरुले घरमा सूचना नटाँस्न र अन्य प्रक्रिया अपनाउन अदालतका कर्मचारीलाइ चेतावनी दिए।

अदालतका सुब्बा स्थानीयसँग बहसमा उत्रिए – 'घर त १० ठाउँमा होलान्। अदालत दश ठाउँमा जाँदैन। यहाँ तामेल भएन भने प्रक्रियामा जान्छ। अदालतलाई सहयोग गर्नुस्।'

उनले वडा सचिव सरिता राईलाइ सूचना टाँस्नका लागि लोकमानको घरसम्म जान आग्रह गरे। तर राई निकैबेर अकमकिइन्।
 
उनलाई स्थानीयले पनि मुद्दाको सूचनाको रोहवरमा हस्ताक्षर नगर्न दबाद दिए। राईले पनि प्रश्न उठाइन् – 'उहाँको घर वडा नं ९ मा पर्छ। उहाँको जन्मस्थान त विराटनगर हो। अब के गर्ने?'

तर, अदालतका तामेलदारले ‘अदालतमा लेखिएको स्थानमा घर भएको, आफू पुगेको तर मानिस मात्र नभएको पाएको’ बताए। त्यसपछि उनीहरुले टाँस गर्ने सूचनाको ब्योहोरा सुनाए – 'निज लोकमानसिंह कार्कीको घरमा कोही नभएको र एकाघरका सदस्य कोही फेला नपरेकाले पूर्व फर्किएको घरको दैलामा यो सूचना टाँस गरिएको छ।'

वडा सचिव राईले अदालतको सूचनामा आफूले टिप्पणी लेख्ने इच्छा व्यक्त गरिन्। 'घर भाडामा रहेको लेख्छु,' उनले भनिन्। अदालतका कर्मचारीले सहमति जनाए।

तर, अदालतका तामेलदारले लेखेको कागजको लोकमानका ज्वाँइले फोटो खिचे। अनि कतै पठाए। अदालतका कर्मचारीले सोधे, ‘कता पठाउनु भएको?’

तर उनले कुनै जवाफ दिएनन्।

अदालतका कर्मचारी वडा सचिवसँगै लोकमानको घरमा सूचना टाँस गर्ने जाने तयारीमा भए पनि अन्तिम समयमा उनीहरुले बाटो मोडे।
अदालतका दुवै कर्मचारी – सर्वोच्च फर्किए।

लोकमानको मुद्दा तामेली भएन।

उनले मुद्दा पुनरावलोकनको सूचना नबुझेको अवस्थामा अब मुलुकी ऐनमा टेकेर सार्वजनिक सञ्चार माध्यमबाट सूचित गर्ने बाटो सर्वोच्चसँग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell