PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरमा भव्य तयारी



पहिलोपोस्ट

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरमा भव्य तयारी

धनुषा : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी भइरहेको छ।
 
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आउँदो १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकले विभिन्न निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत गर्न तथा नेपाल-भारतको संयुक्त झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले बताए।
 
जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ। यसका लागि आऔआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ।
 
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँमा जानेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ।
 
मुखर्जीलाई काठमाडौंबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौं, काठमाडौंबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौंको रुट मिलाइएको बताइएको छ।
 
यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहे पनि सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द गरिएको थियो।
 
राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउँदैछन्।
 
यसअघि नेपालका राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासि स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो।
 
सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो। मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए।
सरकारले भने सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र  सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई यसअघि नै  जिम्मेवारी दिएर भ्रमणको भव्य तयारी भएको बताएको छ।राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell